थबाङ गाउँपालिका–५ कोटलबारामा बुधबार राति करिब ८ः४० बजे माथिबाट पहिरो खस्दा स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा परी १८ वर्षीया शान्ति पुन मगर र अन्दाजी ६० वर्षीया कमलबहादुर पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले जानकारी दिए ।
घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय उवाबाट प्रहरी टोली उद्धारका लागि घटनास्थलमा खटिएको थियो । २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई घाइते अवस्थामा उद्धार गरिएको छ । बुधबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा घरगोठ पुरिएरका हुन् ।
थप उद्धारका लागि बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक बाखुको कमाण्डमा विपद् उद्धार सामग्रीसहित एसओसीओ समेतको टोली घटनास्थलमा खटिएर उद्धार तथा खोजी कार्य भइरहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिए ।
प्रारम्भिक विवरणअनुसार पहिरोमा पुरिएका मानिसको संख्या १० जना पुगेको खुलेको प्रहरीले जनाएको छ ।