विज्ञप्तिमा वर्षात्का कारण वडा, गाउँ, नगर, उपमहानगर, महानगरपालिका तथा क्षेत्रीय अधिवेशनमा पर्न सक्ने प्रतिकूल प्रभाव र पार्टीभित्र व्यापक सहभागिताका लागि संवाद तथा सहमतिको वातावरण बनाउन अधिवेशनको तहगत कार्यतालिका पुनः निर्धारण गरिएको हो।
त्यस्तै, असोज ७ गते जिल्ला अधिवेशन र असोज १० गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको छ।
यसअघि नै तय भएको केन्द्रीय महाधिवेशन भने असोज १६, १७, १८ र १९ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय यथावत् राखिएको छ।
निर्वाचन समितिका अनुसार भदौ २ देखि १० गतेसम्म निर्वाचन प्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइनेछ भने भदौ ११ गते निर्वाचन अधिकृतहरूलाई जिल्लामा खटाइनेछ। भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि खटाउने र भदौ १६ देखि २० गतेसम्म वडा तहमा अभिमुखीकरण तालिम सञ्चालन गरिनेछ।
यसैगरी, बाँकी रहेका नेपाली जनसम्पर्क समितिहरूको अधिवेशन भदौ मसान्तभित्र सम्पन्न गरिसक्ने समयसीमा तोकिएको छ।
केन्द्रीय कार्यसमितिको २०८३ साउन २४ देखि भदौ १ गतेसम्म बसेको बैठकले संविधान, प्रचलित कानुन, पार्टी विधान तथा सर्वोच्च अदालतको २०८३ वैशाख ४ गतेको फैसलालाई समेत ध्यानमा राखी महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा केन्द्रीय निर्वाचन समितिले परिमार्जित तालिका सार्वजनिक गरेको हो।









