काठमाडौं असाेज ३ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्न व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुने बताएका छन्।
उनले भने, ‘राजनीतिक परिवर्तनलाई नागरिकको जीवनमा जोड्न हामीलाई व्यवहारमै सुशासन र उत्कृष्ट सेवा प्रवाह आवश्यक हुन्छ। जसले नागरिकमा आशा जगाउन सकोस्। नागरिकलाई निराशामा राखेर न त कुनै राज्य सफल हुन्छ न त व्यवस्था।’
शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुन नसक्ने कुरा बुझ्नुपर्ने बताए।
उनले भने, ‘हाम्रो राज्यसत्ताको चरित्र, राजनीतिक निष्ठा र मूल्यमान्यतामा पनि परिवर्तन ल्याउन आवश्यक हुन्छ। अन्यथा व्यवहारले राजनीतिक परिवर्तनलाई पुष्टि गर्दैन। अतः आजको दिनले हामी हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्वबोध गराउनेछ भन्ने मैले विश्वास लिएको छु।’
आजको दिन विपद्को पीडासँगै संविधान प्राप्तिको उत्सव र आत्मसमीक्षाको पनि दिन भएको उल्लेख गरे।
उनले भने, ‘यो विपत्तिले हामीलाई सम्झाएको छ विकास केवल सडक, पुल र भवन होइन। मानिसको जीवन, जीविका र भविष्यको सुरक्षा पनि हो। यसर्थ पुनर्निर्माण गर्दा हामीले भत्किएका संरचनासँगै विस्थापित परिवारका सपना पनि फर्काउनु छ।’
संविधानमा अन्तर्निहित लोकतान्त्रिक राज्यप्रणाली जनताको सर्वोपरि हितमा जोडिएको हुन्छ भन्ने कुरा कहिल्यै बिर्सन नहुने बताए।
एकात्मक र केन्द्रीकृत शासन प्रणालीको बदलामा प्राप्त सङ्घीयता संविधानले दिएको महत्त्वपूर्ण उपहार भएको बताए।
उनले भने, ‘संविधान कागजमा लेखिएका शब्द वा वाक्य सङ्ग्रहको लिखित दस्तावेज मात्र होइन। यो नागरिकका सपना, आशा, अपेक्षा र अधिकारको साझा प्रतिज्ञा हो। सरकार नागरिकको सेवक बन्छ, न्याय राज्यको मूल ध्येय बन्छ र कुनै नेपालीले आफ्नै देशमा आफूलाई एक्लो र पराया अनुभूत गर्नु पर्दैन।’
संविधानलाई भाषणमा नभई नागरिकको जीवनमा उतार्ने सङ्कल्प गर्न आह्वान गरेका छन्।









