काठमाडौं असाेज ३ । संविधान दिवसको अवसरमा नेपाली काँग्रेस निबर्तमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै संविधान संशोधनका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै खड्काले सात दशक लामो संघर्षको समष्टिगत परिणामका रूपमा वर्तमान संविधान निर्माण भएको उल्लेख गरेका छन्। संविधानसभाले जनताको नासोका रूपमा संविधान घोषणा गरेको एक दशक पूरा भएको भन्दै उनले संविधान निर्माणमा नेतृत्व र निर्णायक भूमिका निर्वाह गरेका राजनीतिक दल तथा नेताहरूले विगतको निर्मम समीक्षा गर्ने बेला आएको बताएका छन्।
उनले सरकार तथा पार्टी सञ्चालनका क्रममा भएका गल्ती र कमजोरीलाई आत्मसात् गर्दै भविष्यमा त्यस्ता गल्ती नदोहोर्याउने संकल्प गर्नुपर्नेमा जोड दिएका छन्। त्यसबाट जनता र पार्टी पंक्तिको विश्वास पुनः मजबुत बनाउन सकिने उनको भनाइ छ।
खड्काले संविधान कार्यान्वयनको एक दशक पूरा भएको अवस्थामा संयुक्त संघीय संसदलाई निश्चित समय दिएर संविधान कार्यान्वयनको समीक्षा गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने प्रस्ताव गरेका छन्। उनका अनुसार विभिन्न विषयका विज्ञ सम्मिलित आयोगले समीक्षा प्रतिवेदन तयार गर्नुपर्नेछ।
त्यसपछि प्राप्त प्रतिवेदनका आधारमा संयुक्त संघीय संसद्को निर्णयबाट संविधानविद् तथा विज्ञहरू सम्मिलित संविधान संशोधन सुझाव आयोग गठन गर्नुपर्ने उनको सुझाव छ। उक्त आयोगलाई निश्चित समयसीमा दिएर पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा काम गराउनुपर्ने उनले बताएका छन्।
खड्काले आयोगको प्रतिवेदनका आधारमा राष्ट्रिय एकताको जगमा संविधान संशोधन गरी संविधानप्रति सबैको स्वामित्व र अपनत्व हुने वातावरण निर्माण गर्न सकिने उल्लेख गरेका छन्। साथै, संविधानले परिकल्पना गरेको शासन, विकास र समृद्धिको लक्ष्य हासिल गर्न विद्यमान समस्या समाधान गर्दै नवीन तरिकाबाट अघि बढ्नुपर्ने उनको धारणा छ।











