मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र, डा. महतद्वारा मिडिया सेन्टर शुभारम्भ
  • मार्गरेखा संवाददाता

  •  

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको प्रचारप्रसार तथा सञ्चार व्यवस्थापनका लागि स्थापना गरिएको मिडिया सेन्टर शुभारम्भ गरिएको छ । प्रचार–प्रसार समितिका संयोजक एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले शनिबार मिडिया सेन्टरको उद्घाटन गरेका हुन् । मिडिया सेन्टर पार्टी कार्यालय चुनदेवीबाट सञ्चालन हुनेछ । महाधिवेशन अवधिमा भने खुलामञ्चबाट सञ्चालन हुनेछ ।

    मिडिया सेन्टर शुभारम्भ गर्दै नेता महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरे । १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको जिकिर गर्दै उनले पार्टीको पहिचान र विरासतलाई कसैले खोस्न नसक्ने बताएका हुन् ।

    पार्टीभित्र देखिएको विवादका सन्दर्भमा बोल्दै महतले आफूहरू एकीकृत कांग्रेस निर्माणको पक्षमा रहेको उल्लेख गरे । सामाजिक सञ्जालको प्रभाव र विभिन्न भ्रमका कारण पार्टीबाट अलग भएका नेता तथा कार्यकर्तालाई पुनः मूलधारमा फर्किन उनले आग्रह गरेका हुन् ।

    ‘हामी आधिकारिक कांग्रेस हौँ भनेर मैदानमा निस्किएका छौँ। नेपाली कांग्रेसको रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन,’ महतले भने, ‘सामाजिक सञ्जालको प्रभावमा परेर बहकिनुभएका साथीहरूलाई पनि हामी स्वागत गर्छौँ। हाम्रो उद्देश्य एकीकृत पार्टी निर्माण गर्नु हो।’

    उनले महाधिवेशनमा सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने आफूहरूको चाहना रहेको पनि उनले बताए । पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो।

    महतले पार्टीको संगठनात्मक एकता र समावेशी सहभागिता महाधिवेशनको प्राथमिकता हुनुपर्ने बताए ।

    नेपाली कांग्रेसको देउवा पक्षले आगामी मंसिर २१ देखि २४ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ । महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन विभिन्न समिति तथा उपसमितिहरू गठन गरी तयारी अघि बढाइएको छ ।

    यसअघि महाधिवेशनको मूल तयारी समितिले प्रचार–प्रसार समितिको संयोजकमा डा. महतलाई जिम्मेवारी दिएको थियो । त्यस्तै, अतिथि सत्कार तथा समन्वय समितिको संयोजकमा एनपी साउद, प्रशासन समन्वय तथा स्वयंसेवक परिचालन समितिमा मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिमा विद्या तिमिल्सिना र स्वास्थ्य समितिमा डा. अमित कार्कीलाई जिम्मेवारी दिइएको छ।

  • १२ मंसिर २०८३, शनिबार १५:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित