मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अदालतले न्याय दिन्छ, कांग्रेसको सभापति अझै मै हुँ : शेरबहादुर देउवा
  • मार्गरेखा संवाददाता

  •  

    सुर्खेत मंसिर १३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा अदालतले आफूहरूलाई न्याय दिने विश्वास व्यक्त गरेका छन् । उनले आफू अझै पनि पार्टीको वैधानिक सभापति रहेको दाबी गर्दै अदालतबाट आफ्नो पक्षमा फैसला आउने बताएका छन् ।

    आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै देउवाले आफूले राजीनामा नदिएको र पार्टी विधानअनुसार दुईतिहाइ बहुमतबाट पनि सभापतिबाट नहटाइएको जिकिर गरे ।

    उनले पार्टीको आधिकारिकतासम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले त्यसबारे धेरै बहस गर्न आवश्यक नभएको बताउँदै नेपालको संविधान र पार्टी विधानअनुसार आफूहरूले आधिकारिकता पाउने दाबी गरे ।

    ‘जस्तोसुकै अवस्थामा पनि सभापति मै हुँ । अब महाधिवेशनमा निष्पक्ष निर्वाचन हुन्छ । चुनावबाट जित्ने साथी सभापति बन्नुहुन्छ,’ उनले भने ।

    देउवाले न्यायालयप्रति आफूलाई राजतन्त्रकालदेखि नै विश्वास रहेको उल्लेख गर्दै अदालतले न्याय दिनेमा पूर्ण विश्वस्त रहेको बताए ।

    आफू पाँचपटक प्रधानमन्त्री भइसकेको र पार्टी तथा देशका जनताबाट पर्याप्त अवसर पाइसकेको उल्लेख गर्दै उनले अब नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने धारणा राखे ।

    ‘यो पार्टी र देशका जनताले मलाई धेरै दिइसकेका छन् । अब मैले देश र जनतालाई दिन बाँकी छ । अब म फेरि न पार्टी सभापति हुन्छु, न प्रधानमन्त्री,’ उनले भने ।

  • १३ मंसिर २०८३, आईतवार १८:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित