मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जनप्रतिनिधिलाई पार्टीको नीति, नियम र घोषणापत्रअनुसार काम नगरेमा फिर्ता बोलाउने सभापति थापा
  • मार्गरेखा संवाददाता

  • काठमाडौ मंसिर १३ । नेपाली कांग्रेसका सभापति गगन थापाले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीको नीति, नियम र घोषणापत्रअनुसार काम नगरेमा फिर्ता बोलाउने बताएका छन्।

    आइतबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपमा ‘हामी तयार छौं’ अभियानअन्तर्गत स्थानीय तहका प्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै थापाले यस्तो अभिव्यक्ति दिएका हुन्। ‘अब स्थानीय निर्वाचनमा जितेर गएको साथीले पहिलाको जस्तो फुक्काफाल काम गर्न मात्र पाउँदैन,’ सभापति थापाले भने, ‘यसपालि नेपाली कांग्रेस पार्टीको तर्फबाट उम्मेदवार लिएर जाँदै गर्दाखेरि पार्टीको नीति, नियमभन्दा बाहिर गयो भने पार्टीको विधान व्यवस्था छ, रिकलको व्यवस्था, पार्टीले मलाई फिर्ता बोलाउन सक्छ, त्यो कुरालाई उसले मानेर लेखेर लान्छ।’

    आगामी स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवार बनेर जाने व्यक्तिले टिकट लिँदै गर्दा पार्टीको नीति, नियम र अनुशासन पालना गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताए। ‘स्थानीय सरकारमा आएको साथीहरू निर्बाध रूपले आफ्नो हिसाबले चल्छ। पार्टीको कुरा कहाँ छ, के छ भन्ने थाहा पनि हुँदैन,’ उनले भने, ‘अब नेपाली कांग्रेस पार्टीले स्थानीय निर्वाचनमा जित्दै गर्दा त्यो स्थानीय सरकारले के गर्ने, कसो गर्ने काम भन्ने पनि गभर्नेन्स इन्स्टिट्युटले तयार गर्छ।’

    कांग्रेसको विधानविपरीत काम गरेमा र आर्थिक अनियमिततामा संलग्न भएमा पदबाट हटाउने उनको भनाई छ। स्थानीय सरकार सञ्चालनमा पार्टीको प्रभावकारी निगरानी र सहजीकरण आवश्यक रहेको उल्लेख गर्दै उनले पाँच वर्षसम्म जनप्रतिनिधिको कामको अनुगमन, मूल्यांकन र सहयोग गर्न पार्टीले गभर्नेन्स इन्स्टिच्युट स्थापना गरेको जानकारी दिए।

    ‘कुनै आर्थिक अनियमिततामा मुछियो भने पार्टीले उसलाई हटाउँछ, त्यो कुरामा उसले लेखेर लान्छ। उसले टिकट लिने बेलामा के भन्छ भने, मैले यदि जिम्मेवारी पाए भने म गभर्नेन्स इन्स्टिट्युटको माताहतमा रहेर काम गर्छु भन्ने कुरा उसले भनेर जान्छ,’ उनले भने।

    निर्वाचनअघि तयार गरिने घोषणापत्र कार्यान्वयन गर्न पनि कांग्रेसले गभर्नेन्स इन्स्टिच्युट स्थापना गरेको बताए। निर्वाचनमा कांग्रेसले घोषणापत्र तयार गर्ने तर निर्वाचनपछि जनप्रतिनिधि पार्टीसँग सम्पर्कविहीन हुने पुरानो अभ्यास अन्त्य गर्नुपर्ने उनको भनाई छ।

    ‘एउटाले आउँछ घोषणापत्र लेख्छ, त्यसपछि निर्वाचन हुन्छ। निर्वाचन भइसकेपछि पाँच वर्ष सकियो,’ थापाले भने, ‘अनि पार्टीले बेलाबेलामा हामी पत्राचार गर्छ, तपाईंहरूले घोषणापत्र सम्झिनुभएको छ कि छैन भन्छ, पत्राचार गर्छ, बेलाबेलामा जान्छौँ, भेट्छौँ, कुराकानी गर्छौँ।’

    उनले स्थानीय निर्वाचनको लागि पार्टीको निर्वाचन ब्युरोले देशभरका ७५३ स्थानीय तहमध्ये केही पालिकामा प्रारम्भिक सर्वेक्षण समेत गरेको जानकारी दिए। उपसभापति पुष्पा भुसालको नेतृत्वमा रहेको निर्वाचन ब्युरोले वैज्ञानिक विधि र तथ्यांकमा आधारित अध्ययन गरिरहेको उनको भनाई छ।

    सर्वेक्षणबाट कुन पालिकामा कांग्रेसको अवस्था कस्तो छ, कुन समुदाय र उमेर समूहमा पार्टीको प्रभाव कति छ तथा महिला उम्मेदवारको जित्ने सम्भावना कहाँ बढी छ भन्ने विषय पहिचान गरिएको उनले बताए। निर्वाचन ब्युरोमा राजनीतिक नेतृत्वसँगै निर्वाचन, तथ्यांक, अनुसन्धान र अन्तर्राष्ट्रिय निर्वाचन अनुभव भएका विज्ञहरू संलग्न रहेको उनले बताए।

  • १३ मंसिर २०८३, आईतवार १८:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित