मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भौतिक पूर्वाधार निर्माण गदै शिक्षा सुधारमा फड्को मार्दै कोहलपुर नगरपालिका
  • मार्गरेखा संवाददाता

  • कोहलपुर नगरपालिका शैक्षिक सत्र २०८० को अन्त्यतिर निकै चर्चामा रह्यो । धेरैको ध्यान यसले तान्यो । कारण थियो, शिक्षा क्षेत्रमा चालिएको कदम, परीक्षा प्रणालीमा गर्न खोजिएको सुधार । यो कदमपछि कति झस्किए, कतिको वास्तविकता पर्दाफास भयो, कतिपय त भुंग्रोमा परे । तर, यसले कोहलपुरको शिक्षा क्षेत्र सुधारमा आशाको दियो बालिदिएको छ । कोहलपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिहेको नगर प्रमुख पूर्ण प्रसाद आचार्य बताउँछन् । कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्ने लक्ष्य अनुरुप गुणस्तर सुधार, आवश्यक भौतिक पूर्वाधार निर्माण, योग्य र दक्ष जनशक्ति ब्यवस्थापन, विषयगत शिक्षक पूर्ति, अयोग्य शिक्षकहरुको बहिर्गमन, मर्यादित परीक्षा प्रणालीको विकास लगायत कामहरु थालिएको छ । अभिभावकले ढुक्क भएर कोहलपुरका विद्यालयमा आफ्ना नानीबाबु पढाउन सक्ने वातावरण निर्माण गर्न आफू लागिपरेको नगर प्रमुख आचार्यको भनाइ छ । “हामीले एकाएक कदम चालिरहँदा केही अप्ठेरो जस्तो, केही भ्रम परे जस्तो देखिए पनि भविष्यमा कोहलपुरको शैक्षिक उन्नयनमा यो कोशेढुंगा सावित हुनेमा दुई मत छैन,” आचार्य भने–“कोहलपुरमा पढाईका लागि राम्रो वातावरण निर्माण गर्नु नै यो अभियानको मुख्य उद्देश्य हो ।” परीक्षा प्रणालीमा बेथितिको जालो तोडिदिएको आचार्यको दाबी छ । चालू आर्थि बर्षमा कोहलपुर नगरपालिकाले थुप्रै कामहरु गरेको छ । शिक्षा अधिकृत शिला गौतमका अनुसार शिक्षण सिकाई सहजकर्ता कार्यविधि निर्माण गरी ४५ जना शिक्षण सिकाई सहजकर्तालाई विषयगत रुपमा व्यवस्थापन गरिएको छ । दुई वटा विद्यालयको स्तरोन्नति गरी नमुना विद्यालय बनाइएको छ । कोहलपुर २ प्रेमनगरस्थित शिवशक्ति आधारभूत विद्यालय र वडा नम्बर १४ को सिर्जना प्राथमिक विद्यालयलाई नमुना विद्यालय बनाइएको गौतमले बताउनुभयो । छात्राहरुलाई सामुदायिक विद्यालयमा नियमित गराउनका लागि कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरुलाई सेनिटरी प्याड वितरण कार्यक्रम कार्यान्वयन भएको छ । सबै माध्यमिक र आधारभूत सामुदायिक विद्यालयहरुमा बायोमेट्रिक हाजिरी जडान गरिएको छ । यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खड्कवारको बाल विकास केन्द्रलाई स्तरोन्नति गरिएको र ९ वटा विद्यालयहरुलाई बालमैत्री विद्यालय निर्माण गरिएको शिक्षा अधिकृत गौतमले बताउनुभयो । कृष्ण माध्यमिक विद्यालय कोहलपुर १ कौशिलानगर, सिद्धार्थ माध्यमिक विद्यालय कोहलपुर ५ रझेना, बाल शिक्षा माध्यमिक विद्यालय कोहलपुर १३ भरैया, नेपाल रािष्ट्रय आधारभूत विद्यालय कोहलपुर ७ लखनवार, हिमालय मदरसा गरिब नवाज कोहलपुर ३, विद्याज्योति प्राथमिक विद्यालय कोहलपुर १२, राधाकृष्ण प्राथमिक विद्यालय कोहलपुर १४, सृजना बाल प्राथमिक विद्यालय कोहलपुर १४ र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय कोहलपुर १३ सिमरीलाई बालमैत्री विद्यालय निर्माण गरिएको हो । सबै माध्यमिक र आधारभूत सामुदायिक विद्यालयहरुमा वाइफाई जडान गरिएको छ । विद्यालयहरुमा फिल्टरसहितको शुद्ध खानेपानीको ब्यवस्थापन गरिएको छ । शिक्षा अधिकृत गौतमका अनुसार चालू आर्थिक बर्षमा ४ वटा विद्यालयहरुमा विज्ञान प्रयोगशाला निर्माण गरिएको छ । ज्ञानज्योति मावि बगिया, नेपाल राष्ट्रिय आवासीय विद्यालय चटार, नेपाल राष्ट्रिय आवासीय विद्यालय चन्नहवा र शिवशक्ति आवासीय विद्यालय प्रेमनगरमा विज्ञान प्रयोगशाला निर्माण गरिएको हो । राम्रो काम गर्ने शिक्षक र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । ६ वटा माध्यमिक विद्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । लक्ष्मी मावि, कृष्ण मावि, त्रिभुवन मावि, राम मावि र ज्ञानज्योति मावि र सगरमाथा ज्ञानपुञ्ज माविमा सिसिटिभी क्यामेरा जडान गरिएको गौतमले जानकारी दिनुभयो । IEMIS तथ्यांकका आधारमा विद्यालयहरुमा रकम निकासा गरिएको छ । यस्तै माध्यमिक र आधारभूत तह स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सञ्चालन गरिएको छ । मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता र उपमेयर कप महिला क्रिकेट प्रतियोगिता समेत सम्पन्न भएको छ । शिक्षा अधिकृत गौतमका अनुसार दिवा खाजा कार्यक्रम पनि कार्यान्वयन गरिएको छ । शिक्षकहरुलाई सूचना प्रविधि क्षमता विकास तालिम समेत प्रदान गरिएको छ ।

  • २० श्रावण २०८१, आईतवार ०७:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित