स्वास्थ्यमा सहज पहुँचका लागि राहत कार्यक्रम सञ्चालन गरिएको बताउँदै उनले द्वन्दपीडितहरुको न्यायमा पहुँचका लागि पनि पैरवी गरिरहेको उल्लेख गरे । “कार्यविधि नै बनाएर द्वन्दपीडितका पक्षमा काम गरिरहेका छौं, अध्यक्ष पौडेलले भने, आयआर्जनमा जोड्ने गरी काम गरिरहेका छौं, सबै कार्यक्रममा द्वन्दपीडितलाई समेटेर लैजाने नीति बनाएका छौं ।” उनले पालिकामा पालिका स्तरीय र वडा स्तरीय सञ्जाल बनेको उल्लेख गर्दै त्यसलाई पािलकाको अंगको रुपमा स्वीकार गरिएको समेत बताए । वास्तविक पीडितका लागि पालिकाले काम गर्ने बताउँदै उनले कतिपय द्वन्द र परिवर्तनसंग नजोडिएका ब्यक्ति पनि सहिदको सूचीमा समेटिएको देख्दा भने आफू आश्चर्यमा परेको उल्लेख गरे ।
द्वन्दपीडित तथा एकल महिला सञ्जाल बाँकेकी अध्यक्ष एकमाया विश्वकर्माले ढिलै भए पनि प्रमुख राजनीतिक दलहरुबीच भएको सहमतिले न्याय पाउने आशा जागृत गरेको बताइन् । उनले संसदबाट विधेयक पारित भएपछि पीडितले सही अर्थमा न्याय पाउने गरी कार्यविधि बन्नुपर्नेमा जोड दिइन् । द्वन्दपीडितका लागि शिक्षा, स्वास्थ्य, रोजगार लगायतका विषयमा आरक्षण नभई ग्यारेण्टी गरिनुपर्नेमा विश्वकर्माको जोड छ । लामो समयदेखि विवाद गराइएको सुरक्षाकर्मीको पीडित परिवारलाई पनि राहत दिने विषयमा सहमति जुट्नु सुखद पक्ष भएको भन्दै उनले अब कार्यान्वयनमा ध्यान दिनुपर्ने बताइन् ।
न्यायका लागि द्वन्दपीडित सञ्जाल बैजनाथ गाउँपालिका बाँकेकी सचिव पार्वती बुढाले राजनीतिक पूर्वाग्रहबाट मुक्त आयुक्त नियुक्ति गरेर स्वच्छ ढंगले न्याय निरुपणको काम गर्नुपर्नेमा जोड दिइन् । स्मृतिकरण भन्दा पनि द्वन्दपीडितलाई आर्थिक सहायता आवश्यक देखिएको उनको भनाई छ । बुढाले स्थानीय सरकारले स्वेच्छिकरुपमा द्वन्दपीडितलाई सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा नेपाल पिसबिल्डिंग इनिसियटिभकी कार्यक्रम ब्यवस्थापक मिबुशा घिमिरेले संस्थाको कार्य क्षेत्र, गतिविधि, हालसम्मका उपलब्धि, स्थानीय सरकारले गरेका कामहरु, सरकारसंग द्वन्दपीडितका अपेक्षा र गुनासा, मिडियाको भूमिका लगायतका विषयमा प्रस्तुतिकरण गरेकी थिइन् । त्यस अवसरमा नेपाल पिसबिल्डिंग इनिसियटिभका प्रमुख सुविन्द्र बोगटीले द्वन्दपीडितका मुद्दाहरु मिडियामार्फत उजागर गरेर समाधानमा केन्द्रित हुन सघाउ पुग्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा डेढ दर्जन बढी पत्रकारहरुको उपस्थिति थियो । नेपाल पिसबिल्डिंग इनिसियटिभले संक्रमणकालीन न्याय सम्बन्धि विषयमा पत्रकारहरुलाई फेलोशिप पनि दिँदै आएको छ ।
नेपाल पिसबिल्डिंग इनिसियटिभले बाँकेमा राप्तीसोनारी र बैजनाथ गाउँपालिकालाई कार्य क्षेत्र बनाएर काम गरिरहेको छ । यस बाहेक दांगको बंगलाचुली र दंगीशरण गाउँपालिका, बर्दियाको ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिका तथा रोल्पाको सुनिलस्मृति गाउँपालिका र रोल्पा नगरपालिका पनि कार्य क्षेत्र हो ।