मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नगर विकास कोष र कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाबिच करिब ९० लाख रुपियाँको ऋण सम्झौता
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, असोज ४ गते । कोहलपुर बृहत सहरी खानेपानी सरसफाइ आयोजनाकाे  स्तरोन्नतिका लागि नगर विकास कोष र कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाबिच करिब ९० लाख रुपियाँको ऋण सम्झौता भएको छ ।

    आयोजनाका लागि नगर विकास कोषका कार्यकारी निर्देशक राजेशकुमार र कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुसालबीच ८९ लाख ७४ हजार रुपियाँको ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।

    कोहलपुरमा खानेपानी आयोजना विस्तार तथा मर्मत–सम्भारका लागि नगर विकास कोषसँग सम्झौता गरिएको कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुसालले जानकारी दिनुभयो ।

    उहाँका अनुसार संस्थाले सो रकमबाट खानेपानीका पुराना पाइपलाइन मर्मत, साना पाइपका ठाउँमा ठूला पाइप रिप्लेसमेन्ट, १७ किलोमिटर नयाँ पाइपलाइन विस्तार तथा डिप बोरिङ गाड्ने योजना बनाएको छ । ‘‘कोहलपुरमा दिनानुदिन खानेपानीको माग बढ्दै गएको छ,’’ अध्यक्ष भुसालले भन्नुभयो, ‘‘निकै पुराना भइसकेकाले कतिपय पुराना पाइप पनि रिप्लेस गर्नुपर्ने अवस्था छ ।’’ उहाँले पुराना फुटेका र साना पाइप निकालेर ठूला पाइप बिछ्याइने बताउनुभयो ।

    यसअघि पनि संस्थाले नगर विकास कोषसँगै ऋण लिएर कोहलपुरमा खानेपानी विस्तार तथा मर्मत–सम्भार गर्दै आएको थियोे । आयोजनाले कोषलाई यसअघिकै ऋणबापतको सावाँ र ब्याजबापत तिर्नुपर्ने करिब सवा ६ करोड रुपियाँ तिर्न अझै बाँकी छ । फेरि पनि कोषले संस्थासँग पुनः ऋण सम्झौता गरेको छ ।

    ऋण सम्झौतामा कोहलपुर नगर कार्यपालिकाको तर्फबाट नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य जमानत बस्नु भएको छ । प्रमुख आचार्यले जमानतकर्ताको रूपमा सम्झौतापत्रमा हस्ताक्षार गर्नुभएको छ ।

    कोहलपुरका जनतालाई शुद्ध पिउने पानी उपलब्ध गराउने दायित्व नगरपालिकाको पनि भएकाले त्यसैका लागि काम गर्दै आएको संस्थामा नगरपालिकाका तर्फबाट आफू जमानी बसेको प्रमुख आचार्यले बताउनुभयो ।

    कोहलपुर बृहत् सहरी खानेपानी सरसफाइ आयोजनाले कोहलपुर–११ टाउन प्लानिङस्थित खानेपानी कार्यालय परिसर र वडा नम्बर २ स्थित बुद्धविहार परिसरमा स्टेसन बनाएर कोहलपुरमा शुद्ध पिउने पानी वितरण गर्दै आएको छ ।

    पछिल्लो समयमा आएर कोहलपुरमा खानेपानीको सङ्कट गहिरिँदै गएको छ । सुक्खायाममा यहाँ दैनिक करिब ५० लाख लिटर खानेपानीको माग हुँदै आएको छ । वर्षायाममा माग पनि घट्ने र स्रोत पनि बढ्ने भएकाले पर्याप्त खानेपानी वितरण भइरहे पनि सुक्खा याममा भने मागको ५० प्रतिशत मात्र वितरण सम्भव देखिएको कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाले जनाएको छ ।
    सङ्घीय सरकारको सहरी खानेपानी आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी) को ७० प्रतिशत अनुदान सहयोग र ३० प्रतिशत स्थानीय स्रोत परिचालन गरी संस्थाले खानेपानी विस्तार तथा मर्मत–सम्भारको काम गर्दै आएको छ ।साभार गाेरखापत्र अनलाइन बाट

  • ४ आश्विन २०८१, शुक्रबार १७:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित