सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र उनका व्यापारिक साझेदार एवं पूर्वडीआईजी छबिलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ ।
आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले दुवै जनालाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले जनाएका छन ।
लामिछाने र जोशी हाल कास्की प्रहरीको हिरासतमा छन् ।
स्वर्णलक्ष्मीको रकम अपचलनमा संलग्न आरोपमा थप २२ जनाविरुद्ध यसअघि नै अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ । स्वर्णलक्ष्मीका अध्यक्ष भने गितेन्द्रबाबु (जीबी) राई हुन् । लामिछाने र राईका नाममा दुई वटा गाडी खरिद गरिएको छ । राई फरार छन् ।
स्वर्णलक्ष्मीका ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् ।
स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । उक्त सहकारीमा २७ हजार निक्षेपकर्ताले २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेका थिए ।