नेपालगन्ज माघ १६ । बुधबार सूर्यास्त हुँदै थियो । प्रादेशिक महोत्सवको अन्तिम कलाकार चक्र बम आधा दर्जन गीत गाएर विदावारीको चरणमै थिए । घर फर्कँनेको लर्को थियो । गायक बमले जब …भन् साली तेरी दिदी काँ छ…देउडा गीत गाउन थाले मञ्चमै दुई वटा समूहको नाच बन्यो । गायिका भूमिका गिरी, उद्घोषक शोभा त्रिपाठी, ओविराज आचार्य, समीरमान श्रेष्ठको एउटा समूह बन्यो । सांस्कृतिक उपसमितिका सदस्यले मञ्चमाथि अर्को समूह बनाए । मञ्चको तलपट्टि अतिथि बसेको स्थलमा आयोजककोे छुट्टै समूह बन्यो । लुम्बिनी प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्णा केसी नमूना पनि संघका अध्यक्ष टंकबहादुर धामी नेतृत्वमा पदाधिकारी र सदस्य सम्मिलित समूहमा नाच्न थालिन् । भाका बुझे वा बुझेनन्, रुपैडिया नगरका मेयर डा.उमाशंकर वैश्य, रुपैडिया व्यापार मण्डल अध्यक्ष, महासचिव पनि हात, खुट्टाको तालमा ताल मिलाउँदै नाच्न थाले । मञ्चको पूर्वी छेउमै महिलाको अर्को समूह बन्यो । मञ्च परिसरमा मात्र आधा दर्जन समूहमा देउडा नाच भयो । घर जान तम्सिएका दर्शक पनि फर्केर आए र दर्जनौं समूहमा नाच्न थाले । गायक बमले गीत थप्दै गए । प्रादेशिक महोत्सव देउडामय भयो । के युवा, के युवती, के बृद्ध, बालबालिका सबै समूह समूह बनाएर नाच्न थाले । महोत्सव परिसरमा आठ दश जनादेखि सय डेढ सय जनाका दर्जनौं समूहमा देउडा नाच भयो । ‘गीत त सबैले गाउँछन् तर सबै दर्शकलाई नचाउन सक्ने खुबी देखेर दर्शकहरु गायक वमको प्रशंशा गरिरहेका थिए ।
महोत्सवमा लोक गायिका भूमिका गिरीले चोली मैलो भो…तारासँगै जुन…देउरालीमा..लगायतका गीत गाएर दर्शकलाई नचाएकी थिएन् । गायिका गिरी मञ्चबाट तल ओर्लेर दर्शकसँग हात मिलाउँदै गीत गाएकी थिइन् । मोडल तथा डान्सर आरुषी अस्लामी मगरको नृत्यले पनि दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो ।
साँस्कृतिक व्यवस्थापन समितिका संयोजक मख्खनबहादुर धामीका अनुसार महोत्सवको आठौं दिन बिहीबार चर्चित लोकगायक बद्री पंगेनी, लोकदोहोरी गायिका अनिता चलाउने, लोकदोहोरी गायक सपना शाही, डान्सर निशु श्रीपाइली र हास्यव्यङ्ग्य कलाकार खन्टे खलास समूहको प्रस्तुती हुनेछ ।
कार्यक्रममा मगर समाज खजुरा सैैनिकको सामूहिक टप्पा नृत्य र इन्टर स्कुल डान्सिङ स्टार २०८१ का कलाकारले प्रतियोगितात्मक नृत्य प्रस्तुत गरेको सांस्कृतिक समूहका नृत्य प्रस्तुत गरेको महोत्सवका साँस्कृतिक उपसमितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङले जानकारी दिए ।
महोत्सव प्रचार समितिका संयोजक डम्बरबहादुर चन्द हरेक दिन महोत्सवमा दर्शकको संख्या बढ्दै गरेको बताउँछन् । उनले स्टलमा अर्गानिक सामान खरिद गर्न र सांस्कृतिक कार्यक्रम अवलोकनमा दर्शक आकर्षित भइरहेको बताउँछन् । महोत्सवमा ३०० भन्दा बढी स्टलहरु रहेका छन् ।