मुटु रोगको कारणले नै सँधै छाती दुख्छ भन्ने धारणा गलत हो । किनभने लगभग ९० प्रतिशत भन्दा बढी मानिसमा छाती दुख्ने कारण मुटुसंग सम्बन्धित हुँदैनन् । छाती दुख्नसाथआत्तिएर अस्पतालजानु जरुरी हुँदैन । पहिलादुखाईको बारेमा राम्ररी बुझ्नुपर्छ, अनिमात्र को साग, कहाँ र कहिले जँचाउने हो, सो को बारेमा निर्णय गर्नुपर्छ । दुखाईको प्रकृति मुटुरोगसँग सम्बन्धित भएको शंका भएमा अस्पताल गइ हाल्नुपर्छ । यति ह्दयाघातको कारणले छाती दुखेको हो भने, १ मिनेट पनि समय खेर फाल्नु हुँदैन । तर दुखाई मुटुसंग सम्बन्धित नभएपनि योजना बनाएर चिकित्सकलाई भेट्नु पर्छ ।
के–के कारणले छाती दुख्न सक्छ ?
हाम्रो छातीमा मुटु र फोक्सो दुई प्रमुख अंगहरु हुन्छन् । छाती दुखेमा पहिला यी दुई अंगहरुको कारणले हो वा होइन भनी सोच्नुपर्छ । छातीको बनावटमा हड्डी, मांशपेशी, नशा र छालाको पनि भूमिका भएकाले यी अंगहरुको समस्या भएर पनि छाती दुख्न सक्छ । धेरैजसो अवस्थामा छाती दुख्ने कारण हड्डी र मांसपेशीसँग नै सम्बन्धित हुन्छन् । ओ.पि.डीमा छाती दुखेर जँचाउन आउने धेरैजसो बिरामीहरुमा यी कारणहरु नै प्रमुख भएका तथ्य हाम्रो अध्ययन र अनुभवले देखाएको छ । तर, पनि आकस्मिक कक्षमा आएका विरामीको पहिला मुटु र फोक्सोको जाँच गर्नु नै उचित हुन्छ । अर्थात इमर्जेन्सीमा छाती दुखेर आउने बिरामीहरुमा ह्दयघातको कारणले छाती दुखेको हो वा होइन भनि निश्चित गर्नुपर्छ ।
छाती दुख्ने कारण कसरी थाहा पाउने ?
मुटुको कारणले छाती दुख्दा: छातीको बिच भाग वा बायाँतिर एकनासले दुख्ने वा दबाब महसुुस गर्ने वा पोल्ने हुन सक्छ । दुखाईको तिब्रता कम वा बढी हुनसक्छ । दुखाई सँगसँगै धेरै पसिना आउने, वान्ता हुन खोज्ने, मुटु ढुकढुक हुने, डर लाग्ने, कमजोरी हुने जस्ता लक्षणहरु भएमा ह्दयघातको संभावना बढी हुन्छ । ह्दयघातबाट छातीको दुखाई देब्रे हात, घाँटी वा पीठ्युमा पनि सर्न सक्छ ।
फोक्सोको कारणले छाती दुख्दा: लामो श्वास लिँदा वा फेर्दा चस्स छातीको एकातिर(दायाँ÷बाँया) करङ्मा दुख्यो भने फोक्साको कारणले दुखेको हुनसक्छ । दुब्लो मानिसमा यो समस्या बढी देखिन्छ । यस्तो बेलामा स्वाँस्वाँ हुने ज्वरो आउने पनि हुन सक्छ । निमोनियाको कारणले पनि यस्तो हुनसक्छ ।
माँसपेशी वा हड्डीको कारणले छाती दुख्दा: छातीको दायाँ भाग, पछाडी वा छेउतिर करङ्गमा दुख्यो भने मांसपेशी वा हड्डीको कारणले हुनसक्छ । यो भागमा दुखेमा मुटुको कारणले हुने संभावना कम हुन्छ । हातले छाम्दा दुख्ने, श्वास फेर्दा दुख्ने, छातीको घुमाइसँगै दुखाईको तिब्रतामा परिवर्तन आउने जस्ता लक्षण भएमा मांसपेशी र हड्डीको कारणले दुखेको हुनसक्छ ।
छाती दुखेमा के गर्ने ?
१. ह्दयघात जस्तो लक्षण छ भने तुरुन्तै अस्पतालको इमर्जेन्सीमा पुगेर इ.सि.जी. गर्ने।
२. ह्दयाघात जस्तो लक्षण छैन तर पनि दुखाई लगातार भइरहेको छ भने चाँडै चिकित्सकको परामर्श लिने।
३. दुखाई मुटु रोगसँग मिल्दैन र धेरै अप्ठ्यारो पनि भएको छैन भने योजना बनाएर सुविधा अनुसार मुटुरोग विशेषज्ञसँग जँचाउने।
४. जोखिम उच्च भएका बिरामीलाई जस्तो किसिमको छाती दुखाई भएपनि मुटुरोग विशेषज्ञको परामर्श लिनु आवश्यक हुन्छ।