मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज उपमहानगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली शुरु
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, पुस १२ । नेपालगन्ज उपमहानगरपालिकाले मेट्रिक घर नम्बर प्रणाली शुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१२ विपी चोकमा ‘विपी मार्ग’ रोड नेम प्लेटको उद्घाटन गर्दै नगर प्रमुख प्रशान्त बिष्टले मेट्रिक घर नम्बर प्रणाली सुरु गर्नुभएको हो । रोड नेम प्लेटको उद्घाटनपछि नगर प्रमुख विष्ट र उपप्रमुख कमरुद्दिन राईले उपमहानगरपालिका कार्यालयमा घर नम्बर प्लेट राखेर अभियानको सुरुवात गर्नुभएको थियो ।

    पहिलो चरणमा वडा नम्बर १२ का ५० वटा घरमा स्याम्प्लिङका रुपमा नम्बर प्लेट राखिने नेपालगन्ज उपमहानगरपालिकाका इन्जिनियर चन्दनराज दासले बताउनुभयो । पहिलो चरणमा स्याम्प्लिङका रुपमा घर नम्बर प्लेट राख्न सुरु गरिएको बताउँदै दासले १ देखि २३ नम्बर वडाका सबै घरलाई मेट्रिक घर नम्बर प्रणाली जोड्ने लक्ष्य रहेको जानकारी दिनुभयो । चालू आर्थिक वर्षमा वडा नम्बर १ का लागि १० लाख बजेट विनियोजन गरिएको छ ।

    यो प्रणालीमा मूल सडकको मुख्य विन्दुदेखि मिटर (दुरी) का हिसाबले घरमा नम्बरिङ्ग गरिन्छ । मूल सडकको मुख्य विन्दुदेखि जति दुरी (मिटर) मा घर अवस्थित छ, त्यत्ति नै नम्बर उक्त घरलाई दिइन्छ । मुख्य विन्दुदेखि दायाँतिर जोड नम्बर र बायाँतिर विजोर नम्बर राखिने दासले जानकारी दिनुभयो । मेट्रिक घर नम्बर प्रणालीमा सफ्टवेयरमा घरको फोटो, घरधनीको नाम, कित्ता नम्बर लगायत ‘सामाजिक-आर्थिक तथ्यांक प्रविष्ट गरिएको हुन्छ । “स्याम्प्लिङका रुपमा जिआइजेडले हामीलाई उपलब्ध गराएको सफ्टवेयरमा घरको डाटा इन्ट्री गरेपश्चात दोस्रो चरणमा नम्बर प्लेट राख्छौं,” इन्जिनियर दासले भन्नुभयो-“यो प्रणाली सुरु भएपछि नागरिक (सेवाग्राही) को घर-घर  जानुपर्दैन, आवश्यक सूचना सफ्टवेयरबाटै लिन सकिन्छ ।”

    नेपालगन्जमा पहिलो चरणमा १० ठाउँमा रोड नेम प्लेट राखिनेछ । हाललाई कौशल्या मार्ग,विपी मार्ग, इदगाहा मार्ग, प्रगतिनगर मार्ग, आदर्शनगर मार्ग, कर्मशा मार्ग, शितलनगर मार्ग, कस्तुरी मार्ग, बागेश्वरी मार्ग र खजुरा रोड  नामका रोड नेम प्लेट राखिने नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।

    नगर प्रमुख विष्टले नगरलाई डिजिटलाइज गर्ने अभियानमा लागिपरेको बताउँदै नागरिक-स्थानीय सरकारबीच सहज पहुँचका लागि घर नम्बर प्रणाली लागू गरिएको उल्लेख गर्नुभयो । नगरको एकिकृत दीगो विकास र सम्बृद्धिका लागि उपमहानगरपालिकाले थुप्रै योजना अघि सारेको भन्दै विष्टले प्रविधिको उच्चतम् प्रयोग गरेर अघि बढ्ने बताउनुभयो । उपप्रमुख राईले यसबाट हरेक घरको जानकारी उपमहानगरपालिकालाई हुने हुँदा सहज हुने बताउनुभयो । उद्घाटन कार्यक्रममा प्रवक्ता एवम् वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर १२ का वडा अध्यक्ष तरुणकुमार बज्राचार्य, वडा नम्बर ८ का वडा अध्यक्ष रजनिश बाजपेई (विवेक), इन्जिनियर दास लगायत उपस्थिति हुनुहुन्थ्यो ।

  • १२ पुष २०८०, बिहीबार १८:५८ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित