मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आजबाट छोरीलाई सित्तैमा लगाइदिनुस् पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप
  • मार्गरेखा संवाददाता

  • भदौ २७ काठमाडौं । किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ आजदेखि निःशुल्क लगाइँदै छ ।

    एचपीभी खोप हालका लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई मात्रै दिइँदैछ । खोप लगाउनका लागि आफ्नो उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । यो खोपको दुई मात्रा लगाउनुपर्ने हुन्छ ।

    स्वास्थ्य मन्त्रालयको परिवार कल्याण महाशाखा प्रमुख डा. विवेकलाल कर्णका अनुसार कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, कर्णाली प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा एचपीभी खोप लगाउन सकिन्छ । कोशी र मधेश प्रदेशमा भने नियमित खोप चल्ने भएकाले भदौ २८ र २९ मा सञ्चालन हुनेछ ।

    ‘एचपीभी खोपको मात्रा पनि कम भएको र खोपपछि हुने अवाञ्छित घटनालाई मध्यनजर गर्दै अस्पताल केन्दि्रत भएर दिने निर्णय गरेका हौं, भने विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भएको खोप हो ।’

    विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सर विरुद्ध तीन वटा खोपलाई मान्यता दिएको छ, जसमध्ये नेपालमा दिन लागिएको खोप चीनमा बनेको सकुलेन ब्राण्डको हो ।

    अहिले चीनबाट खरिद गरेको २० हजार भाइल एचपीभी विरुद्धको खोप हाल टेकुस्थित खोप भण्डारणमा राखिएको छ । सरकारी स्तरबाट पहिलो पटक किशोरीलाई दिन लागिएको एचपीभी विरुद्धको खोप गत असार १९ मा नेपालमा आइपुगेको थियो ।

    नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ । र, ९ देखि १४ वर्ष उमेर समूहका बालिकालाई नियमित खोप सञ्चालन गर्ने योजना छ ।

    सरकारले अनुदानमा खोप उपलब्ध गराउन दातृ निकाय ग्लोबल भ्याक्सिन एलायन्स (गाभी) लाई आग्रह गरेको छ । अबको एक वर्षभित्रमा नियमित अनुदानमा गाभी मार्फत एचपीभी विरुद्धको खोप आउने आशा राखिएको छ ।

    चिकित्सकका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर पनि एक हो । पाठेघरको मुखको क्यान्सर हुने मुख्य भूमिका हृयुमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुन्छ । विश्व स्वास्थ्य संगठनले स्वीकृतिप्राप्त संस्था गोल्बोक्यानका अनुसार नेपालमा प्रत्येक दिन करिब ६ जना महिलाको पाठेघर मुखको क्यान्सरको कारण मृत्यु हुन्छ ।

    एचपीभी भाइरस सरुवा भएकाले सजिलै फैलिन्छ । यो मुख्यतः छालाको सम्पर्कबाट सर्छ ।

    चिकित्सकका अनुसार भाइरसको संक्रमणको प्रमुख कारण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा पाउने, छोटो अन्तरालमा लगातार बच्चा पाउने र धेरै जनासँग यौन सम्बन्ध बनाउने, असुरिक्षत यौन सम्पर्क गर्ने, धेरै धूमपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनु रहेका छन् ।

    चिकित्सकका अनुसार ३० देखि ४५ वर्षसम्म पुग्दासम्म ८० प्रतिशत एचभीपीको संक्रमण भइसकेको हुन्छ ।

    महिला र पुरुषहरू एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले सबभन्दा राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर, शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमणमुक्त भने बनाउन सक्दैन ।

    एचपीभी विरुद्धको खोपले पाठेघर मुखको क्यान्सर, गुद्वारको क्यान्सर, घाँटी र जनेन्द्रियहरूको क्यान्सरबाट पनि बचाउँछ । चिकित्सकका अनुसार एचपीभी विरुद्ध खोप यौन सम्पर्क अगाडि लगाउन सके जीवनभर ९० प्रतिशत सुरक्षित राख्छ ।

    एचपीभीबाट क्यान्सर भएकाहरूमा सुरुको अवस्थामा कुनै पनि लक्षण नदेखिन सक्ने भएका कारण खोप र नियमित स्क्रिनिङ गराउनु आवश्यक पर्ने चिकित्सक बताउँछन् । सरकारले सहज रुपमा खोप उपलब्ध गराउन नसक्दा निजी संस्थाहरुले आफ्नै हिसाबमा खोप आयात गर्दै वितरण गर्दै आएका छन् । यसका कारण महिलाहरु उक्त खोपका लागि महँगो शुल्क तिर्न बाध्य छन् ।

  • २७ भाद्र २०८०, बुधबार ०९:५५ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित