मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पारदर्शिता र जवाफदेहिता हाम्रो मुख्य प्राथमिकताः कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्य
  • मार्गरेखा संवाददाता

  • बाँके जिल्लाका आठ स्थानीय तह मध्ये कोहलपुर नगरपालिका बढी चलायमान र गतिशील देखिएको छ। नगरपालिकाले व्यवस्थित कोहलपुर बनाउने योजनाका साथ आफ्ना कार्यक्रमलाई योजनाबद्ध रूपमा प्राथमिकता दिएर काम गरिरहेको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, हरित नगर, फुटपाथ व्यवस्थापन, संस्थागत सुधार, नगरलाई प्रविधिसँग जोड्ने गरी काम गरिरहेको छ। यसै सन्दर्भमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यसँग गरिएको कुराकानी ः

    तपार्ईं निर्वाचित भएर आएपछि के कति काम गर्नुभयो ?
    कोहलपुर नगरपालिकामा निर्वाचित भएर आएको दुई वर्ष पूरा भएको छ । निर्वाचित हुनु अघि एउटा सचेत नागरिकको हिसाबले स्थानीय सरकारले गर्ने कामप्रति सहयोग र रचनात्मक सुझाव दुवै रह्यो। राम्रो कामप्रति सधैँ सहयोग रह्यो भने गलत काम गर्दा प्रश्न गर्ने र खबरदारी गर्ने काम गरियो। पहिले प्रश्न गर्ने ठाउँमा थिएँ भने अहिले जवाफ दिने ठाउँमा छु । कोहलपुर नगरपालिकाले ठूलो विकास निर्माणका योजना भन्दा पनि माग र आवश्यकताका आधारमा योजना निर्माण र कार्यान्वयन गर्दै आएको छ । शिक्षा र स्वास्थ्यलाई बढी प्राथमिकता दिएर काम गरिएको छ। प्रशासनिक भवन, कभर्ड हल, चक्रपथ निर्माण जस्ता पूर्वाधार निर्माणका ठूला योजना पनि सञ्चालनमा छन् तर ठूला योजनाको लागत खर्च हाम्रो स्थानीय सरकारले थेग्न मुस्किल पर्छ । धेरैको माग सडक र नालाको छ । हाम्रो बजेट सीमित छ । यस्तो अवस्थामा कम्तीमा पनि मानिस आउजाउ गर्ने सडक निर्माण गर्ने, नाला निर्माण गर्ने र भएका बाटोको स्तरोन्नति गर्ने गरी काम भइरहेका छन् । बजेटको आधारमा सडक कालोपत्रे गर्ने काम पनि गरिएको छ तर सबैको आवश्यकता र माग सम्बोधन गर्ने गरी सडक कालोपत्रेको काम गर्न सकिएको छैन । यो गाह्रो कुरा पनि हो। त्यसका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गरिएको छ ।
    विकासको काममा कसरी प्राथमिकता निर्धारण गर्नुभएको छ ?
    शिक्षा हाम्रो पहिलो प्राथमिकता हो। अब कोहलपुर नगरपालिकाका कुनै पनि सामुदायिक विद्यालयमा विषयगत शिक्षकको अभाव छैन। स्रोत शिक्षक राखेर सबै विद्यालयमा विषयगत शिक्षकको अभाव पूरा गरिएको छ। यसको नतिजा अहिले नआए पनि दीर्घकालीन रूपमा शिक्षामा सकारात्मक प्रभाव पार्नेछ भन्ने विश्वास हाम्रो छ। कोहलपुर नगरपालिका भन्ने बित्तिकै धेरैलाई विकसित नगरपालिका हो भन्ने लाग्दछ तर कोहलपुर नगरपालिका विकट पनि छ । १५ वटा वडाले बनेको यो नगरपालिका बजार क्षेत्रमा मात्रै विकसित देखिएको हा । ठूलो हिस्सा ग्रामीण क्षेत्रले ओगटेको छ । त्यसैले सकेसम्म हामीले स्थानीयको आवश्यकता र मागमा आधारमा विकासलाई प्राथमिकतामा राखेका छौँ। १५ वटै वडालाई विकसित वडा बनाउने गरी हाम्रा योजना निर्माण गरिएको छ । एउटा वडा सधैँ पछाडि पर्ने र अर्को वडा सधैँ विकसित भइरहने स्थिति हुनु हुँदैन भन्नेमा हामी प्रष्ट छौँ। सबै वडालाई समानुपातिक ढङ्गबाट विकास होस् भन्ने हाम्रो चाहना छ ।
    भौतिक पूर्वाधार निर्माणका काम भइरहेको छ त ?
    भौतिक पूर्वाधार निर्माणमा सडक हाम्रो प्राथमिकतामा छ । अहिले पनि कैयौँ ठाउँमा सडक पुग्न सकेको छैन। सडक, खानेपानी, विद्युत जस्ता विषय नभई नहुने अत्यन्तै आवश्यक कुरा हुन् । सडक नपुगेका ठाउँमा सडक पु¥याउने, पुगेका सडकलाई स्तरोन्नति गर्ने काम भएका छन् । साना कल्भर्ट निर्माणका काम पनि भएका छन् । विद्यालय भवन, स्वास्थ्य संस्थाका भवनलाई प्राथमिकता दिएर काम गरिएको छ । प्रदेश र संघीय सरकारको समन्वयमा पूर्वाधार निर्माणका काम पनि भइरहेका छन् । पूर्वाधार भनेर ठूलाठूला बिल्डिङ वा संरचना बनाउनुपर्छ भन्ने पक्षमा म छैन । अहिले पनि कोहलपुर नगरपालिकाका केही वडाहरु छन्, जहाँ सहज सडकको पहुँच छैन । वडा नम्वर ७, वडा नम्वर १३, वडा नम्वर १५ पूर्वाधार विकासका हिसावले सबैभन्दा विकट र पिछडिएका छन् । वडा नम्वर १३ मा ५० मिटर पिच समेत भएको छैन । हामी आउनु भन्दा अगाडि १५ नम्वर वडामा करिव डेढ सय मिटर मात्रै पिच थियो । हाम्रै नगरपालिकाभित्रका शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीलाई सेवाका लागि त्यहाँ जानुस् भन्दा दुर्गम मानेर जान नमान्ने अवस्था छ । यस्तो हुँदा त्यहाँका नागरिकले विभेदको अनुभूति गर्छन् । त्यसो भएर उहाँहरुलाई पनि स्थानीय सरकारको अनुभूति हुनेगरी पूर्वाधार विकासका कामहरुलाई अगाडि बढाइएको छ । कही डुवान भइरहेको छ भने भने त्यहाँ नाला बनाउने, कटान भइरहेको छ भने तटबन्ध गर्ने, खेलकुदका लागि वडा तहमै खेल मैदान निर्माण गरिदिने, सामुदायिक वनहरुसँगको सहकार्य र समन्वयमा पार्कहरु निर्माण गरिदिने जस्ता कुरालाई स्थानीय सरकारले प्राथमिकता दिँदै आएको छ ।
    शिक्षा क्षेत्र सुधारमा पालिकाले बढी प्राथमिकता दिएको देखिन्छ नि ?
    कोहलपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । कोहलपुरलाई शैक्षिक हवको रुपमा विकास गर्नका लागि शैक्षिक गुणस्तर सुधार गर्ने, भौतिक पूर्वाधार निर्माण गर्नेदेखि विभिन्न कार्यक्रमहरु अगाडि बढाइएको छ । शिक्षामा दक्ष जनशक्तिको व्यवस्थापन गर्न खोजिएको छ । अहिले कोहलपुरमा योग्य र दक्ष जनशक्तिको धेरै अभाव छ । धेरै विद्यालयहरुमा विषयगत शिक्षकको अभाव छ । ९–१० कक्षामा पढाउने एउटा शिक्षकको योग्यता भनेको जम्मा प्लस टु मात्रै छ । किन छ भने उनीहरुलाई दिइने तलव भत्ता अत्यन्तै न्यून छ । यदि राम्रो सेवा सुविधा दिने हो भने त योग्य शिक्षक पाइन्छ नि ! त्यसैले हामीले संस्थागत वा सामुदायिक विद्यालयहरुमा योग्यता पुगेका दक्ष विषयगत शिक्षक परिपूर्ति गर्न खोजेका हौं । शिक्षण संस्थाहरुमा नाताभित्रका घरपरिवारभित्रकै अयोग्य शिक्षकहरुले पठनपाठन गराइरहेको अवस्था देखिन्छ । त्यसो भएकाले न्यूनतम् पारिश्रमिक निर्धारण गरेर योग्य शिक्षक ल्याइनुपर्छ । र, परीक्षा प्रणालीलाई मर्यादित बनाउनैपर्छ भनेर हामी लाग्यौं । यी दुई तीन वटा कुरालाई मात्र हामीले ख्याल गर्न सक्यौं भने कोहलपुरको शैक्षिक गुणस्तर वृद्धि हुन्छ । एकाएक हामी शैक्षिक सुधारको प्रक्रियामा जाँदै गर्दा तत्कालका लागि केही धक्का लागेको महसुस भएपनि कालान्तरमा यसले कोहलपुरको शिक्षालाई फाइदा हुन्छ । विद्यार्थीहरुमा अब कोहलपुरका विद्यालयमा भर्ना हुने हो भने नपढी हुँदैन भन्ने भावनाको विकास हुन्छ । नपढ्ने केही विद्यार्थी वाहिर गएपनि पढ्ने विद्यार्थी कोहलपुरमै भर्ना हुन्छन् र अभिभावकहरुले पनि ढुक्क भएर आफ्ना बालबालिका कोहलपुरमा पढाउँछन् । कोहलपुरमा पढाईका लागि राम्रो वातावरण निर्माण गर्नु नै यो अभियानको मुख्य उद्देश्य पनि हो ।
    सम्वृद्ध पालिका बनाउन उत्पादन महत्वपूर्ण हुन्छ, त्यसतर्फ के के काम भइरहेको छ ?
    तपाईंले एकदमै सही कुरा भन्नुभयो । कृषिबाट होस् वा उद्योगबाट होस् उत्पादनलाई त जोड दिनैपर्छ । तर, दुर्भाग्य हामीकहाँ कतिपय संघीय ऐन कानुनले पनि धेरै ठूला समस्या बनाएका छन् । हाम्रा किसानहरुले मेहनत र लगानी गरेर उत्पादन गर्छन् । तर, त्यसको उचित बजार र मूल्य पाउँदैनन् । अहिले कोहलपुरकै १३ नम्वर वडामा हेर्ने हो भने किसानहरुले राम्रो उत्पादन गरिरहेका छन् । त्यहाँको उत्पादन लागत उच्च छ । भारतबाट चोरी गरी भन्सार छली गरेर आउने अस्वस्थकर तरकारीले यहाँको उत्पादनलाई विस्थापित गर्ने गरेको छ । यसले नेपाली किसान मारमा परेका छन् । कुनै बेला मासु, दूध जस्ता बस्तु भारतबाट आउँथ्यो, तर अहिले बन्द छ । त्यसैगरी भारतबाट आउने तरकारी बन्द गरिनुपर्छ । यस्ता कुरामा नीतिगत निर्णय गरेर त्यस्ता आयातहरुलाई निरुत्साहित गरिनुपर्छ । यदि यसो गर्न सकियो भने १३ नम्वर वडामा गरिने तरकारी खेतीले सिंगो कोहलपुरलाई तरकारीमा आत्मनिर्भर बनाउन सक्छ । त्यसैगरी व्यवसायमा पनि आयातित बस्तुको असर परिरहेको छ । यहाँ कतिपय घरेलु तथा साना मझौला र ठूला उद्योग पनि छन् । तर, सीमा क्षेत्रबाट चोरेर वा मिलेमतोमा आउने बस्तुले त्यस्ता उत्पादनलाई पनि विस्थापित गरिदिएको अवस्था छ । यो हाम्रो तहबाट हामीले नियन्त्रण गर्न सक्ने कुरा होइन ।
    जनगुनासोलाई कसरी सम्बोधन गर्दै आउनुभएको छ ?
    सबैका आआफ्नै गुनासा छन्। कोही मेरो टोलमा बाटो पुगेन भनेर गुनासो गर्न आउनुभएको छ भने कोही पक्की बाटो बनाउनु प¥यो भन्नुहुन्छ । कसैले जागिर लगाइदिनुप¥यो भन्नुहुन्छ । एक हिसाबले भन्ने हो भने गुनासोको भारी बिसाउने थलो स्थानीय सरकार बनेको छ तर हाम्रो बाध्यता छ। हामीसँग स्रोतसाधन निकै कम छ। नागरिकको अपेक्षा ठूलो छ। त्यो हिसाबले धेरैका गुनासालाई एकै पटक सम्बोधन गर्न सकिएको छैन तर क्रमशः काम भइरहेका छन् । सामूहिक गुनासोलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ।
    आर्थिक पारदर्शिता र जवाफदेहिताको स्थिति कस्तो छ ?
    आर्थिक पारदर्शिता र जवाफदेहिता हाम्रो मुख्य प्राथमिकतामा छ । निर्वाचित भएर आएदेखि सचेततापूर्वक काम गरेका छौँ । संस्थागतरूपमा काम गरेका छौँ। तेलमा हुने कुपन प्रणाली खारेज गरिएको छ । हाम्रा हरेक निर्णय सार्वजनिक गर्ने गरिएको छ । नगरपालिकाको आफ्नै फेसबुक पेज छ । त्यसमार्फत कार्यपालिकाका बैठकका निर्णय होस् वा सूचना । सबै सार्वजनिक गर्ने गरेका छौँ। हामी निर्वाचित भएर आएपछि कोटेशन खारेज गरेका छौँ । कोटेशन शून्य हुने कोहलपुर नगरपालिका देशभरकै पहिलो स्थानीय तह नै होला भन्ने मलाई लागेको छ । कोटेशनबाट कार्यक्रम होस् वा ठेक्का पट्टा दिँदा त्यसले आर्थिक पारदर्शिता देखिएन । आफू अनुकूलका र नजिकका मान्छे मात्र समेटिने र कार्यक्रम प्रभावकारी पनि नहुने भएकाले कोटेशन प्रणाली खारेज गरेर टेन्डर प्रक्रिया अवलम्बन गरिएको छ।

  • ३१ असार २०८१, आईतवार २२:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित