काठमाडौ बैशाख २१ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ ले आफ्नो निवास तथा निर्माण सेवा कार्यालयमा भएको छापा प्रकरणबारे प्रेस विज्ञप्ति जारी गर्दै सुशासन, पारदर्शिता र जवाफदेहिताप्रति आफू प्रतिबद्ध रहेको बताएका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले हेटौँडा र काठमाडौंस्थित घर तथा कार्यालयमा छापा मारेपछि सार्वजनिक ध्यानाकर्षण भएको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले यस विषयमा गम्भीर चासो व्यक्त गरेका छन्। उनले आफ्नो जीवनको लामो राजनीतिक यात्रामा विभिन्न आरोह–अवरोध पार गर्दै हाल जनताको सेवकका रूपमा काम गरिरहेको बताएका छन्।
विज्ञप्तिमा उनले प्रदेश सरकारको नेतृत्व सम्हालेपछि सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै सार्वजनिक खर्चमा मितव्ययिता अपनाइएको र आवश्यकताअनुसार योजना तथा कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरेका छन्।
तीन तहको सरकारबीच समन्वय, सहअस्तित्व र सहकार्यको आधारमा काम भइरहेको उल्लेख गर्दै उनले स्थानीय र संघीय तहसँग सहकार्य गर्दै प्रदेशको समग्र विकासमा ध्यान केन्द्रित गरिएको बताएका छन्।
छापा प्रकरणबारे सञ्चारमाध्यममा आएका समाचारप्रति संकेत गर्दै उनले यसले आफ्नो व्यक्तिगत तथा सामाजिक चरित्रमाथि आघात पुगेको महसुस गरेको बताएका छन्। यद्यपि, कानुनी प्रक्रियाअनुसार हुने हरेक अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता उनले जनाएका छन्।
अन्त्यमा, मुख्यमन्त्री बानियाँले प्रदेशवासीलाई अफवाहमा नपर्न आग्रह गर्दै आफू जनताको सेवामा निरन्तर सक्रिय रहने बताएका छन्।









