सुर्खेत जेठ २० । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको पाँचौँ बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको हो । प्रदेश प्रमुख यज्ञराज जोशीले नीति तथा कार्यक्रमका प्राथमिकता सार्वजनिक गरेपछि मुख्यमन्त्री यामलाल कँडेलले पूर्णपाठ वाचन गरेका थिए । प्रदेश प्रमुख अस्वस्थ भएपछि मुख्यमन्त्रीले नीति तथा कार्यक्रम बाचन गरेका हुन् । सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रमले समृद्ध कर्णाली सुखारी कर्णालीवासीको दीर्घकालीन परिकल्पना कार्यान्वयनलाई प्राथमिकतामा राखेको छ ।
यस्तै, प्रशासनिक संरचनाको सुदृढीकरण तथा सूचना प्रविधिमा आधारित सेवा प्रवाहमार्फत सुशासन कायम गर्ने, बहुवर्षीय तथा स्रोत सुनिश्चितता प्राप्त आयोजनामा पर्याप्त रकम विनियोजन गर्दै विनियोजन दक्षता कायम गरी आयोजना सुशासन कायम गर्ने, प्रशासनिक खर्चमा मितव्ययिताको सिद्धान्त अवलम्बन गर्दै शून्य बेरुजु अभियानमार्फत वित्तीय सुशासन प्रवद्र्धनको विषय सरकारले आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकता दिएको छ








