नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यसहित निर्वाचन प्रक्रियामा डिजिटल प्रणाली तथा ईभीएम (इलेक्ट्रोनिक भोटिङ मेसिन) प्रविधिलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ ।
आइतबार ललितपुरकाे सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय निर्वाचन समितिकाे बैठकले यस्ताे निर्णय गरेकाे सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।
वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको निर्वाचन समितिको बैठकले महाधिवेशन तोकिएको समयभित्र स्वच्छ, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्ने लक्ष्यसहित विभिन्न निर्णय गरेको सदस्य सचिव कटुवालले जानकारी दिए ।
बैठकले निर्वाचन प्रक्रियालाई डिजिटलाइजेशन गर्दै सकेसम्म पेपरलेस प्रणाली अपनाउने तथा ईभीएम प्रविधिको प्रयोगलाई प्राथमिकता दिने निर्णय गरेको छ ।
त्यस्तै, निर्वाचन प्रक्रिया सुरु भएपछि निर्वाचनसम्बन्धी आचारसंहिता लागू हुने भएकाले विधानमा अन्यथा उल्लेख भएकाबाहेक निर्वाचन अवधिभर केन्द्रीय कार्यसमितिलगायत सबै तह र निकायलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रह गर्ने निर्णय पनि गरिएको छ ।
समितिले काठमाडौं उपत्यकाभित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका निर्वाचन अधिकृत तथा ती जिल्लाअन्तर्गत रहेका १५ वटै निर्वाचन क्षेत्र, महानगरपालिका र नगरपालिकामा महिला कानुन व्यवसायीलाई प्राथमिकताका साथ निर्वाचन अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको छ ।
यस्तै, निर्वाचन कार्यमा स्वयंसेवकका रूपमा कानुन व्यवसायी तथा अन्य पेशागत समूहलाई सहभागी गराई रोस्टर तयार गर्ने, उनीहरूलाई अभिमुखीकरण (ओरिएन्टेसन) प्रदान गरी आवश्यकता अनुसार निर्वाचन अधिकृतका रूपमा परिचालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।









