काठमाडौ असार २३ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर देउवालाई बयानका लागि उपस्थित हुन एक साताको समय दिँदै पत्र जारी गरेको छ ।
विभागले मंगलबार सूचना जारी गरी ७ दिनभित्र देउवालाई बयानका लागि उपस्थित हुन निर्देशन दिएकाे हाे ।
विभागले उनलाई सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ७१ बमोजिम सात दिनभित्र विभागको केन्द्रीय कार्यालय, पुल्चोक, ललितपुरमा उपस्थित हुन भनेको हाे ।
अनुसन्धानको सिलसिलामा बयान लिन आवश्यक भएकाले बोलाइएको सूचनामा उल्लेख छ । विभागका अनुसार सम्बन्धित व्यक्तिको ठेगानामा सम्पर्क हुन नसकेपछि प्रचलित कानुनअनुसार सार्वजनिक सूचना प्रकाशन गरी हाजिर हुन आह्वान गरिएको हो । तोकिएको अवधिमा उपस्थित नभए प्रचलित कानुनबमोजिम प्रक्रिया अघि बढाइने चेतावनी पनि सूचनामा भनिएकाे छ ।
विभागका अनुसार सोमबार बूढानीलकण्ठस्थित जयवीर देउवाको ठेगानामा पुगेर उपस्थितिका लागि सूचना टाँस गरिएको हो । पत्रमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उल्लेख गर्दै तोकिएको समयभित्र विभागमा उपस्थित हुन भनिएको छ ।
स्रोतका अनुसार जयवीर देउवामाथि नेपाल टेलिकमको बिलिङ ठेक्का तथा राहदानी (पासपोर्ट) छपाइसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी उजुरीका आधारमा अनुसन्धान भइरहेको छ ।
सोही विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायत निकायमा परेको उजुरीमाथि अनुसन्धानका क्रममा बयानका लागि बोलाइएको स्रोतले जनाएको छ ।










