सुर्खेत साउन ६ । नेपाली कांग्रेसले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
कांग्रेस कर्णाली प्रदेश संसदीय दलको बुधबारको बैठकले प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो । कांग्रेस र नेकपाका सांसदहरूले ३२ असारमा मुख्यमन्त्री कँडेलविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। प्रदेशसभा सचिवालयले उक्त प्रस्तावलाई बिहीबारको प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गरेको छ।
अविश्वास प्रस्ताव पारित भए मुख्यमन्त्री कँडेल पदमुक्त हुनेछन् र संविधानअनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ । ४० सदस्यीय कर्णाली प्रदेशसभामा कांग्रेसका १४, नेकपाका १४, एमालेका १० तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सांसद गरी एक–एक सदस्य छन्।









