नेपालगञ्ज, साउन १९ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाँकेका करिब एक सय नेताकार्यकर्ताले सामूहिक रूपमा पार्टीबाट राजीनामा दिएका छन्। राजिनामा दिनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्रीद्वय हिक्मत ढकाल, ऋषिराम देवकाेटा, केन्द्रीय सदस्यहरू ओम प्रकाश अजाद, लक्ष्मी कुमारी हमाल, केन्द्रीय सल्लाहकार लक्ष्मी श्रेष्ठ,जिल्ला अध्यक्ष नरेन्द्र पाैडेल,गाैरब चन्द, लुम्बिनी प्रदेश संयाेजक नितु चन्द,जिल्ला उपाध्यक्ष बिन्दु चर्ति धर्ती,नगर सभापति हुकुम के सी लगायत एक सय जना भन्दा बढीले पार्टी परित्याग गरेका छन ।
उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको वर्तमान नेतृत्वप्रति असन्तुष्टि जनाउँदै साधारण सदस्यसमेत नरहने घोषणा गरेका हुन्।
विज्ञप्तिमा राप्रपाले बोकेको राजसंस्था, सनातन हिन्दु राष्ट्र, प्रदेश संरचना खारेजी तथा सुशासन जस्ता मूल एजेन्डाबाट वर्तमान नेतृत्व विचलित भएको आरोप लगाइएको छ। पार्टी नेतृत्वले आन्दोलनलाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको, गुटगत राजनीति मौलाएको तथा महाधिवेशनलाई निष्पक्ष रूपमा सम्पन्न हुन नदिएको दाबी पनि गरिएको छ।
राजीनामा दिने नेताकार्यकर्ताले पार्टी अध्यक्षले सार्वजनिक रूपमा आन्दोलन र पार्टीका मूल एजेन्डाबारे फरक–फरक धारणा राखेको, प्रदेश संरचना सम्बन्धी विषयमा दोहोरो चरित्र देखाएको तथा संगठनभित्र असन्तुष्टि बढेको आरोप लगाएका छन्।
विज्ञप्तिमा पछिल्लो निर्वाचनमा पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेको, जनविश्वास गुम्दै गएको र वर्तमान नेतृत्व पूर्ण रूपमा असफल भएको उल्लेख गर्दै राप्रपाभित्र बसेर अब अघि बढ्न नसकिने निष्कर्षमा पुगेको जनाइएको छ।
उनीहरूले साउन १९ गतेदेखि बाँके जिल्लाका केन्द्र, जिल्ला, क्षेत्र, नगर, वडा तथा विभिन्न तहमा सक्रिय करिब एक सय जना नेताकार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरी स्वतन्त्र रूपमा रहने निर्णय गरेको जानकारी दिएका छन्।
साथै, भविष्यमा पनि राजसंस्था र सनातन हिन्दु राष्ट्रको एजेन्डालाई मन, वचन र कर्मले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।









