धनगढी साउन ११ । डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ । सहमति भएसँगै डा. केसीले अनशन तोडेका छन् । सरकार र डा. केसीबीच सातबुँदे सहमति भएको हो ।
सहमतिअनुसार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा, कैलालीलाई पूर्ण क्षमतामा (कम्तीमा तीन सय शैया ) शिक्षण अस्पताल सञ्चालनका साथै आवश्यक जनशक्तिको तुरुन्त व्यवस्था गरी एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गरिनेछ ।
त्यसका लागि गेटामा कम्तीमा ३ सय शैयाको अस्पताल सञ्चालनका लागि विश्वविद्यालयले तत्काल प्रक्रिया अगाडि बढाउने र यसका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने भनिएको छ ।
यसका साथै विश्वविद्यालयको सभाबाट पारित भएबमोजिम एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालनका लागि संकाय, जनशक्तिको भर्ना, पाठ्यक्रमको स्वीकृतिलगायतका शैक्षिक तयारी तुरुन्त पूरा गर्ने भनिएको छ ।
विश्वविद्यालयले ३ सय शैयाको शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति र उपकरण खरिदलगायतका अस्पताल सञ्चालनसम्बन्धी सम्पूर्ण व्यवस्था तत्काल बन्दोवस्त गर्ने सहमति भएको छ ।
विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ लाई समेत समेटी विश्वविद्यालयका पदाधिकारीको योग्यता र नियुक्ति लगायतका विषयमा संशोधन प्रक्रिया संघीय संसदको चालु अधिवेशनवाटै (तीन महिनाभित्र) अगाडि बढाउन नेपाल सरकार समक्ष प्रस्ताव पेस गर्ने भनिएको छ ।
चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ र चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सिट निर्धारणसम्बन्धी एकीकृत कार्यविधि, २०८३ ले तोकेको मापदण्ड बमोजिम सिट निर्धारण गर्ने भनिएको छ । निजी शिक्षण संस्थामा सिट वृद्धि नगरिने तर सार्वजनिक शिक्षण संस्थाको सिट सङ्ख्या वृद्धि गर्न बाधा नपर्ने सहमतिमा उल्लेख छ । ऐनमा भएको व्यवस्था अनुसार छात्रवृत्तिसम्बन्धी व्यवस्था यथावत राख्ने सहमति भएको छ ।










