मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रतिपक्षको भूमिका नै समाप्त हुने गरी सरकार बनाउने अभ्यास लोकतान्त्रिक प्रणालीका लागि उपयुक्त नहुने सभापति गगन कुमार थापा
  • मार्गरेखा संवाददाता

  • काठमाडौं साउन २४ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सातवटै प्रदेशमा कांग्रेस, नेकपा एमाले र नेकपा मिलेर संयुक्त सरकार गठन गर्ने प्रस्ताव पार्टीले अस्वीकार गरेको बताएका छन्।

    आइतबार कांग्रेस केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले प्रदेश सरकार गठनसम्बन्धी पछिल्लो राजनीतिक अवस्थाबारे सदस्यहरूलाई जानकारी गराएका हुन्।

    उनका अनुसार तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्षबीच भएको सहमतिअनुसार प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी थियो। उक्त सहमतिअनुसार कांग्रेस नेतृत्वमा रहेका प्रदेशमा एमाले र एमाले नेतृत्वमा रहेका प्रदेशमा कांग्रेसले निश्चित समयपछि नेतृत्व लिने विषयमा छलफल भएको उनले बताए।

    तर, सहमति कार्यान्वयनका क्रममा एमालेतर्फबाट सातवटै प्रदेशमा कांग्रेस, एमाले र नेकपा सम्मिलित संयुक्त सरकार बनाउने प्रस्ताव आएपछि कांग्रेसले त्यसलाई अस्वीकार गरेको थापाको भनाइ छ।

    थापाले प्रदेश सरकारमा प्रतिपक्षको भूमिका नै समाप्त हुने गरी सबै दल सहभागी भएर सरकार बनाउने अभ्यास लोकतान्त्रिक प्रणालीका लागि उपयुक्त नहुने बताए।

    ‘प्रदेशमा अपोजिशन नै नराखी तीन पार्टी मिलेर सरकार बनाउने कुरा ठीक हुँदैन,’ थापाले बैठकमा भने, ‘यो पार्टी, संघीयता र लोकतन्त्रका लागि पनि ठीक छैन।’

    उनले मधेस प्रदेशको राजनीतिक अवस्था अन्य प्रदेशभन्दा फरक रहेको पनि बताए। त्यहाँ कांग्रेस, एमाले र नेकपा सम्मिलित संयुक्त सरकार रहेको र सोही पृष्ठभूमिमा प्रदेश सरकारको नेतृत्वसम्बन्धी विषयमा छलफल अघि बढाइएको उनको भनाइ छ।

    प्रदेश सरकारसम्बन्धी वार्ताको नेतृत्व कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले गरेको जानकारी पनि थापाले दिए।

    सभापति थापाले संघीय सरकारमा कांग्रेसको भूमिका तथा प्रतिपक्षमा रहेका प्रदेश सरकारमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे समेत थप छलफल आवश्यक रहेको बताए। आगामी दिनमा संघ र प्रदेश दुवै तहमा पार्टीको राजनीतिक रणनीति स्पष्ट पार्दै अघि बढ्नुपर्ने उनको भनाइ छ।

  • २४ श्रावण २०८३, आईतवार १७:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित