काठमाडौं साउन २४ । नेपाली कांग्रेसभित्र पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि पार्टीभित्र देखिएको आरोप–प्रत्यारोपप्रति चिन्ता व्यक्त गर्दै तत्काल पार्टी एकताका लागि निर्णायक पहल गर्न सभापति गगन थापालाई नेपाली काँग्रेसका निबर्तमान कार्यबाहक अध्यक्ष पुर्ण बहादुर खड्काले आफ्नो फेसबुक्स मार्फत आग्रह गरेका छन ।
नेपाली काँग्रेसका निबर्तमान कार्यबाहक अध्यक्ष पुर्ण बहादुर खड्काले सामाजिक सञ्जालमार्फत पार्टीका अग्रज नेता, विभिन्न तहमा जिम्मेवारीमा रहेका नेता–कार्यकर्ता तथा भ्रातृ र शुभेच्छुक संस्थाका सबै तहका पदाधिकारीलाई संयमित हुँदै पार्टी एकताका लागि अघि बढ्न अपिल गरेका हुन्।
देशको राष्ट्रियता प्रतिकूल र संकटापन्न अवस्थामा रहेको तथा लोकतान्त्रिक संविधानमाथि चुनौती उत्पन्न भएको उल्लेख गर्दै उनले अहिलेको पहिलो आवश्यकता नेपाली कांग्रेसको सम्पूर्ण एकता भएको बताएका छन्।
उनले पार्टीभित्र सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको भावना विकास गरी संवाद र सहमतिबाट सुदृढ एकता कायम गर्नुपर्नेमा जोड दिएका छन्। व्यक्तिगत महत्वाकांक्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुण्ठाबाट मुक्त भएर सामूहिक भावनाका साथ पार्टी एकताका लागि निर्णायक पहल गर्न पनि उनले आग्रह गरेका छन्।
सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनका लागि दिएको निस्सालाई पार्टी एकताका लागि ‘अन्तिम अवसर’ का रूपमा लिनुपर्ने उनको भनाइ छ।
विशेषगरी सभापति थापालाई तत्काल पार्टी एकताका लागि अग्रसर हुन आग्रह गर्दै उनले भनेका छन्, “निर्णायक तपाईं हो, तपाईं।” सभापतिले नेतृत्वदायी पहल गरे आफूहरू त्यसका लागि सहयोगी बन्न तयार रहेको उनले बताएका छन्।
त्यस्तै, पार्टी र भ्रातृ–शुभेच्छुक संस्थाका सबै तहका नेता–कार्यकर्तालाई एकताका लागि वातावरण निर्माण गर्न आग्रह गर्दै उनले सामाजिक सञ्जालमा भइरहेको आरोप–प्रत्यारोप र गालीगलौज बन्द गर्न अपिल गरेका छन्।
“राष्ट्र रहे बहुदलीय लोकतन्त्र रहन्छ, पार्टी रहन्छ र त्यसमा हामी रहने ठाउँ रहन्छ। नभए सबै खरानी हुन्छ,” उनले भनेका छन्।









