मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेस एकताको पक्षमा जनमत निर्माण गर्न देशव्यापी हस्ताक्षर संकलन गर्ने नेपाली काँग्रेस नेता नैनसिंह महर
  • मार्गरेखा संवाददाता

  • काठमाडौं साउन २६ । देश राजनीतिक, सामाजिक र आर्थिक चुनौतीको चपेटामा परिरहेका बेला नेपाली कांग्रेसभित्रको आन्तरिक एकता झन् अपरिहार्य बन्दै गएको भन्दै ‘देश र कांग्रेस जोड्ने अभियान’ले एकताको पक्षमा निर्णायक पहल अघि बढाएको छ।
    कांग्रेसलाई गुट, समूह र व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर बलियो र एकताबद्ध बनाउन भन्दै विगत दुई महिनादेखि निरन्तर संवाद, छलफल र विमर्श गर्दै आएको अभियानले राजधानीमा बुद्धिजीवी तथा नागरिक अगुवाहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
    कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै ,नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरले देश संकटमा परेको बेला कांग्रेसभित्रको एकता झन् आवश्यक भएको बताए।
    गाउँका जनता र भुईँ कांग्रेसको एउटै अपेक्षा छ—कांग्रेस बलियो र एकताबद्ध होस्। कार्यकर्ता विभाजन चाहँदैनन्, उनीहरू नेतृत्व मिलेको हेर्न चाहन्छन्,महरले भने।
    उनका अनुसार कांग्रेसको आन्तरिक विवाद अब नेताहरूको मात्र विषय रहेन। यसको प्रत्यक्ष प्रभाव संगठन, कार्यकर्ता र आम नागरिकको मनोविज्ञानमा परेको छ। त्यसैले पार्टीलाई पुनः जनतासँग जोड्न पनि आन्तरिक एकता पहिलो सर्त भएको उनको भनाइ छ।
    कांग्रेसभित्र मतभिन्नता हुन सक्छ, विचारमा बहस हुन सक्छ, नेतृत्वका लागि प्रतिस्पर्धा पनि हुन सक्छ। तर पार्टी नै कमजोर हुने गरी विभाजन स्वीकार्य हुँदैन,महरले भने।हालै सम्पन्न राष्ट्रिय भेलाले कांग्रेस एकताको पक्षमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिँदै महरले एकताका लागि सबै तहका नेताहरू व्यक्तिगत स्वार्थ, पद र प्रतिष्ठाभन्दा माथि उठ्नुपर्ने बताए।कांग्रेस एकताको कुरा गर्ने हो भने सबैभन्दा पहिले नेताहरू त्यागका लागि तयार हुनुपर्छ। कसैले एक कदम पछाडि हट्नुपर्छ, कसैले आफ्नो अडानमा पुनर्विचार गर्नुपर्छ। तर कांग्रेसलाई फुटबाट जोगाउनैपर्छ,उनले भने।
    महरले कांग्रेसको एकता केवल पार्टीभित्रको व्यवस्थापनको विषय नभई लोकतन्त्र र देशको भविष्यसँग जोडिएको राष्ट्रिय आवश्यकता भएको बताए।
    आज देशलाई बलियो लोकतान्त्रिक शक्ति चाहिएको छ। त्यो भूमिका निर्वाह गर्ने जिम्मेवारी कांग्रेसको हो। त्यसैले कांग्रेस कमजोर हुने, फुट्ने वा विभाजित हुने अवस्था देशका लागि पनि सुखद होइन, उनको भनाइ थियो।
    कार्यक्रममा वरिष्ठ पत्रकार किशोर नेपाल, नेपाल इन्जिनियरिङ एशोसिएशनका पूर्व अध्यक्ष ध्रुव थापा, पूर्व उपकुलपति प्रेमनारायण अर्याल, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झा, डेमोक्रेटिक लयर्स एशोशिएशनका पुर्व राष्ट्रिय अध्यक्ष योगेन्द्र अधिकारी ,प्राध्यापक मनोज कर्ण, पूर्व सांसद रामजीवन सिंह, अभियन्ता गोपाल झा, तेजप्रसाद पण्डित, ज्ञानेन्द्र देवकोटा लगायत विभिन्न क्षेत्रका करिब एक सयभन्दा बढी बुद्धिजीवी तथा नागरिक अगुवाको सहभागिता थियो।
    राष्ट्रिय सभासांसद रन्जित कर्णले संचालन गर्नु भएको कार्यक्रमको सभापतित्वमा भएको कार्यक्रममा सहभागीहरूले कांग्रेसभित्रको अहिलेको परिस्थितिलाई गम्भीरतापूर्वक समीक्षा गर्दै व्यक्तिभन्दा पार्टी, गुटभन्दा संगठन र पदभन्दा देशलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए।
    उनीहरूको साझा भनाई थियो,
    कांग्रेसमा विचारको बहस होस्, नेतृत्वका लागि प्रतिस्पर्धा होस्, तर विभाजन नहोस्।
    अभियानले आगामी दिनमा देशका विभिन्न ठाउँमा पुगेर कांग्रेसका नेता, कार्यकर्ता, बुद्धिजीवी, नागरिक समाज र शुभेच्छुकहरूसँग संवादलाई थप व्यापक बनाउने जनाएको छ।
    देश र कांग्रेस जोड्ने अभियान’ले अब हस्ताक्षर संकलन गर्ने:
    कांग्रेसभित्र एकताको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यले अभियानले देशव्यापी हस्ताक्षर संकलन कार्यक्रम अघि बढाउने भएको छ। अभियानका अनुसार यो हस्ताक्षर केवल कागजमा गरिने समर्थन नभई ‘कांग्रेस एकताबद्ध हुनुपर्छ’ भन्ने आम कार्यकर्ता र शुभेच्छुकको सामूहिक आवाजका रूपमा अघि बढाइनेछ।
    अभियानका अगुवाहरूले कांग्रेसलाई पुनः गाउँ, कार्यकर्ता र आम नागरिकको भावनासँग जोड्ने उद्देश्य रहेको बताएका छन्।

  • २६ श्रावण २०८३, मंगलवार १६:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित