मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

दोश्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज÷अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा दोश्रो बाँके युथ कन्क्लेभ बुधबार नेपालगन्जमा सम्पन्न भएको छ । गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको आयोजना, बास नेपालको संयोजन तथा बाँकेका स्थानीय तह, नागरिक समाज र विभिन्न संघसंस्थाको समन्वय तथा सहकार्यमा कन्क्लेभ सम्पन्न भएको हो ।
    गैरसरकारी संस्था महासंघ बाँके शाखाका अध्यक्ष मन भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अथिति लुम्बिनी प्रदेश सभा सदस्य माननीय सुशिला बादी नेपालीले युवालाई विकासको साझेदारका रूपमा अघि बढाउन राज्यले शिक्षा, सीप, रोजगारी र उद्यमशीलतामा विशेष प्राथमिकता दिनुपर्ने बताइन् । युवाको क्षमता र सिर्जनशीलतालाई देश निर्माणमा उपयोग गर्नुपर्ने उनको भनाइ थियो ।
    कार्यक्रममा बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले स्थानीय तहले युवालाई लक्षित गरी सीप विकास, रोजगारी तथा नेतृत्व विकासका कार्यक्रमलाई प्राथमिकता दिइरहेका बताउदै त्यस्लाइ थप प्रभावकारी बनाउनु पर्ने बताइन् । आफ्नो पालिकाले युवाहरुको हकमा विभिन्न सञ्जालहरु गठन गरि युवाहरुका हकहितका लागि कार्यक्रम गर्दै आइरहेकोछ उन्ले भनिन् “जसले गर्दा युवाहरुलाइ नेपालमै टिकाउन केही मद्दत गरेको र केही युवाहरुले पालिका भित्र तथा अन्य पालिकामा ब्यापार गरि अरु युवाहरुको प्रेरणाको स्रोत बनेका छन ।”
    बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी पूर्णबहादुर खत्री, युवाहरूले आफ्नो अधिकारसँगै कर्तव्य र सामाजिक उत्तरदायित्वलाई पनि आत्मसात् गर्नुपर्नेमा जोड दिए । सकारात्मक सोच, अनुशासन र सामाजिक सद्भाव कायम गर्न युवाको भूमिका महत्वपूर्ण रहेको बताउदै । युवाले स्वयम् के गर्न सक्छन उनिहरुले चाहेको कुरा के हो भन्ने कुरा उनिहरुबाटनै आउनुपर्छ खत्रीले भने “स्वयम युवाको इच्छाशक्ति छैन भने नेपाल सरकार र सँस्थाले जति लगानी गरेपनी त्यसको परिणाम शून्य हुन्छ ।”
    राप्ती सोनारी गाउँपालिका प्रवक्ता मिनराज खड्काले सरकारी स्तरबाट युवाको नाममा खेलकुद कार्यक्रम बाहेक युवा प्रेरित कार्यक्रममा उललेखनिय बजेट बिनियोजन नगरेको कुरा बताउदै बाँके जिल्लाको हकमा युवाहरू धेरै मात्रामा लागुऔसधको दलदलमा फसेको बताउदै यसलाइ न्यूनीकरण गर्न सबै लाग्नुपर्ने बताए । युवाको सहभागिता स्थानीय तहको योजना निर्माणदेखि कार्यान्वयनसम्म सुनिश्चित गर्नुपर्ने बताउँदै युवाका वास्तविक आवश्यकता पहिचान गरेर कार्यक्रम बनाउनुपर्नेमा जोड उनको जोड थियो ।
    नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्खबहादुर थापाले युवालाई शिक्षा, खेलकुद, सीप तथा नेतृत्व विकाससँग जोड्दै अवसर सिर्जना गर्न स्थानीय तह प्रतिबद्ध रहेको बताए । युवाको क्षमता विकासमा सरकारी तथा गैरसरकारी क्षेत्रबीच सहकार्य आवश्यक रहेको थापाको भनाइ थियो ।
    नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले युवाको आवाजलाई नीति निर्माण र सार्वजनिक बहसमा प्रभावकारी रूपमा उठान गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउदै युवाहरुलाइ नेपालमा टिकाइ राख्नको लागि नेपालमै केही गर्ने वातावरण सृर्जना गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ बाँकेका सल्लाहकार निर्मला सुनारले युवा वर्गभित्र रहेको विविधता र सम्भावनालाई सम्बोधन गर्दै समावेशी नीति तथा कार्यक्रम आवश्यक रहेको बताइन् । युवाका सवालमा सरकारी निकाय, नागरिक समाज र संघसंस्थाबीच सहकार्य अझ बलियो बनाउनुपर्नेमा सुनारको जोड थियो ।
    कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहले ‘अन्तर्राष्ट्रिय युवा दिवस र युवाको विश्वव्यापी बहस’ विषयमा कार्यपत्र प्रस्तुत थिए । उनले युवा ः परिभाषा र नेपालको जनसांख्यिक अवस्था, युवाका सवालको विश्वव्यापीकरण, नेपालमा राष्ट्रिय युवा नीतिको विकास, युथ भिजन–२०२५, नेपालको युवा अवस्थाका प्रमुख समस्या तथा युवाका सवालमा सरोकारवालाको भूमिका लगायत विषयमा प्रस्तुति गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै शाहले नेपालमा युवाको ठूलो जनसांख्यिक हिस्सा रहेको अवस्थामा उनीहरूको क्षमता, सीप र ऊर्जालाई देश विकासमा उपयोग गर्न तिनै तहका सरकारले प्रभावकारी नीति र कार्यक्रम बनाउनुपर्नेमा जोड दिएका थिए ।
    कार्यक्रममा बास नेपालका केन्द्रीय अध्यक्ष तथा गैरसरकारी संस्था महासंघ बाँके शाखाका सदस्य शिवकुमार वर्माले स्वागत गरेका थिए भने गैरसरकारी संस्था महासंघ बाँके शाखाका उपाध्यक्ष ताराप्रसाद खत्रीले कार्यक्रम सञ्चालन गरेका थिए ।
    युथ कन्क्लेभले बाँकेका युवाका सवाल, सम्भावना र चुनौतीबारे साझा बहस सिर्जना गर्दै युवालाई नीति निर्माण, सामाजिक विकास र समृद्धिको अभियानमा थप सक्रिय रूपमा सहभागी गराउने वातावरण निर्माण गरेको आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, नागरिक समाज, संघसंस्था, युवा क्लव, सञ्चारकर्मि लगायत १५० जनाको सहभागिता रहेको थियो ।

  • २७ श्रावण २०८३, बुधबार १८:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित