मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

महामारीबाट मरेका पशुको पनि क्षतिपूर्ति दिनुपर्छ : बासुदेव घिमिरे
  • मार्गरेखा संवाददाता

  • काठमाडौं साउन २७  । राष्ट्रिय सभा सदस्य बासुदेव घिमिरेले महामारीका कारण मरेका पशु चौपायाका धनीलाई राहत र क्षतिपूर्तिको स्पष्ट व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

    राष्ट्रिय सभामा बुधबार ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले विधेयक सकारात्मक रहे पनि केही व्यावहारिक र महत्वपूर्ण पक्षहरू छुट्न पुगेको उल्लेख गरे ।

    नेपालमा ८० प्रतिशतभन्दा बढी जनसंख्या पशुपालनमा आधारित रहेको र यसलाई आर्थिक आयआर्जनको प्रमुख स्रोत बनाएको सन्दर्भ जोड्दै घिमिरेले यस क्षेत्रको सुरक्षाका लागि कडा र स्पष्ट कानुनी व्यवस्था अपरिहार्य रहेको बताए ।

    विधेयकमा सङ्क्रमण फैलिन नदिन रोगग्रस्त पशु नष्ट गरिएमा क्षतिपूर्ति दिने प्रावधान भए पनि महामारीका कारण आफैं मरेका पशुका हकमा राहतको कुनै व्यवस्था नभएकाले त्यसलाई थप गरिनुपर्ने उनको सुझाव थियो ।

    यसैगरी, रोग लागिसकेपछि नियन्त्रण गर्नुभन्दा रोग लाग्नै नदिने ‘जैविक सुरक्षा’ (बायो–सिक्योरिटी) का उपायहरूलाई प्रवद्र्धन र परिस्कृत गर्ने नीति विधेयकमा समावेश गरिनुपर्नेमा पनि जोड दिए ।

    स्थलचर पशु र पँक्षीका अलावा माछा पालन तथा जङ्गली जनावरहरूमा फैलिने सङ्क्रामक रोग नियन्त्रण र परीक्षणका विषयमा पनि विधेयकले स्पष्ट दिशा निर्देश गर्नुपर्ने उनको भनाइ थियो ।

    पशु रोग नियन्त्रणसम्बन्धी व्यवस्थाले किसानको जीविकोपार्जन र मुलुकको समग्र अर्थतन्त्रमै प्रत्यक्ष प्रभाव पार्ने भएकाले यस विधेयकमाथि बुँदागत रूपमा गम्भीर छलफलको आवश्यकता रहेको सांसद घिमिरेले बताए ।

    विधेयकलाई थप परिस्कृत, व्यवहारिक र सर्वस्वीकार्य बनाउन विधायन व्यवस्थापन समितिमा लगेर दफावार छलफल गराउन उनले अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण पनि गराए ।

  • २७ श्रावण २०८३, बुधबार १८:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित