काठमाडौं भदाै २५ । बजारमा भइरहेको खाना पकाउने ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै विद्यार्थीहरूले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसको गेटमै दाउरामा खाना पकाएर सांकेतिक विरोध गरेका छन्।
अखिल (क्रान्तिकारी)मा आबद्ध विद्यार्थीहरूले बिहीबार क्याम्पसको मुख्य गेटमा दाउरामा भात र गुन्द्रुक–आलु पकाएका हुन्। ग्यास अभावका कारण सर्वसाधारणले भोगिरहेको समस्या समाधान गर्न सरकार असफल भएको भन्दै उनीहरूले दाउरामा खाना पकाएर विरोध जनाएका हुन्।
विद्यार्थीहरूले क्याम्पस गेटमै पकाएको खाना त्यहीँ बसेर खाएका थिए। दाउरामा खाना पकाउँदै उनीहरूले बजारमा देखिएको ग्यास अभाव तत्काल अन्त्य गरी सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
ग्यासको अभाव हुँदा सर्वसाधारण वैकल्पिक इन्धन प्रयोग गर्न बाध्य भइरहेका बेला विद्यार्थीहरूले दाउरामा खाना पकाएर सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरूले ग्यासको आपूर्ति सहज बनाउन र कृत्रिम अभाव सिर्जना गर्ने प्रवृत्तिमाथि निगरानी तथा आवश्यक कारबाही गर्नसमेत माग गरेका छन्।









