काठमाडौ असाेज ९ । बंगालको खाडीमा उत्पन्न भएको न्यूनचापीय चक्रको प्रभावले वर्षा हुन थालेपछि पश्चिम नेपालका २५ जिल्लामा दुई दिन गाडी चलाउन रोक लगाइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार साँझ सूचना जारी गरी अत्यधिक वर्षा हुने २५ जिल्लामा यातायात सञ्चालनमा रोक लगाएको हो। प्राधिकरणले शुक्रबार र शनिबार २५ जिल्लामा अत्यधिक वर्षा हुने जनाएको छ।
रातो रंग लगाइएका यी जिल्लामा कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका छन्। ती जिल्लामा दुई दिन यातायात सञ्चालन नगर्न भनिएको छ।
जसमा सुदूरपश्चिमका दार्चुला, बझाङ, बाजुरा, कैलाली र कञ्चनपुर छन् तथा कर्णालीका डोल्पा, जुम्ला, कालीकोट, मुगु, हुम्ला र सुर्खेत छन्। त्यस्तै लुम्बिनीका प्युठान, दाङ, रुपन्देही, पाल्पा, अर्घाखाची, गुल्मी, कपिलवस्तु, बाँके र बर्दिया तथा गण्डकी प्रदेशका मनाङ, मुस्ताङ, गोरखा, लमजुङ र स्याङजा छन्।
यस्तै, ३० जिल्लामा धेरै पानी पर्ने सम्भावना रहेको जनाएको छ। जसमा कोसी र मधेशबाहेक पाँचै प्रदेशका जिल्ला रहेका छन्। सुन्तला रंग लगाइएका यी जिल्लामा रातको समयमा यातायात बन्द गर्न भनिएको छ। दिउँसोको समयमा गाडी चलाउने वा नचलाउने भने अवस्था हेरेर जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्टलाई निर्णय गर्न भनिएको छ।
यस्तै, बाँकी २२ जिल्ला केही मात्रामा वर्षा हुने जनाइएको छ। जसमा कोसी र मधेश प्रदेशसँगै बागमती प्रदेशका मकवानपुर र सिन्धुली जिल्ला रहेका छन्। यी जिल्लामा सतर्क रहन निर्देशन दिइएको छ।









