मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरमा गौडेलको घरदैलो आज सकिने, भोलिदेखि राप्तीसोनारीमा  
  • मार्गरेखा संवाददाता

  • कोहलपुर ६ फागुन । नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बनेका नारायण प्रसाद गौडेलले आज कोहलपुरमा घरदैलो सक्दैछन् । आज कोहलपुर नगरपालिका वडा नं.१२ र १३ मा घरदैलो गर्ने कार्यक्रम रहेको निर्वाचन व्यवस्थापन सचिवालयका संयोजक जयश्वर पौडेलले बताए । भोलिदेखि भने राप्तीसोनारीका ९ वटा वडामा घरदैलो कार्यक्रम सुरु हुने पनि उनले जानकारी दिए ।

    बुधवार भने एकै दिन गौडेलले कोहलपुरका तीन वडामा घरदैलो गरेका छन् । कोहलपुर नगरपालिका वडा नं. ९ झण्डवा, वडा नं. १४ पार्वतीपुर र उढारपुर तथा वडा नं. १५ अकलघरुवा, चौधरिया र चन्हमा घरदैलो गरेको काँग्रेस बाँकेका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए । वडा नं.९ मा वडा कार्यसमितिका कार्यबाहक सभापति गंगा ओली, वडा नं. १४ मा वडा कार्यसमितिका सभापति रञ्जित थापा र वडा नं. १५ मा वडा कार्यसमितिका कार्यबाहक वडा सभापति दुर्गा बहादुर हमालको अगुवाइमा घरदैलो भएको हो । घरदैलोका क्रममा स्थानीयहरूले बाटोघाटो, पुलपुलेसा, कृषि, सिँचाइ, सुकुम्बासी समस्या, बेरोजगारी लगायतका विषयहरु उठाउने गरेका छन् ।

    काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेलले विकास निर्माणका काममा काँग्रेसले सधैं नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताउँदै अब आफूले नीतिगत रूपमा समस्या समाधानका लागि पहल गर्ने भएकाले आफूलाई जिताउन आग्रह गर्ने गरेका छन् । गौडेलको घरदैलोमा व्यस्त काँग्रेस नेतृ सञ्जु कुमारी थारुले मुलुक अहिले विषम अवस्थामा रहेको र २०८४ सालमा हुनुपर्ने निर्वाचन विषम अवस्थाकै कारण २०८२ मै हुन लागेकाले मतदाताहरुले अत्यन्तै विवेकपूर्ण निर्णय गर्नुपर्ने बेला आएको बताइन् ।

    उनले भावना र उत्तेजनाको राजनीतिले समाजको समस्या समाधान गर्न नसक्ने भएकाले सुझबुझपूर्ण तरिकाले मतदान गर्न आग्रह गरिन् । उनले मुलुकको विषम परिस्थितिलाई काँग्रेसले सही ढंगबाट अवतरण गराएका विगतका दृष्टान्तहरुलाई आत्मसात् गर्दै काँग्रेसलाई जिताउन आग्रह गरिन् । बाँके काँग्रेसको राजनीतिमा लामो समय संगठन निर्माणमा सक्रिय भएको, तल्लो तहमा बसेर जनताको सुखदुःखमा साथ दिएको नेता उम्मेदवारका रूपमा पाउँदा आफूहरु खुसी भएको मतदाताहरू बताउँछन् ।

  • ६ फाल्गुन २०८२, बुधबार ०८:५२ प्रकाशित
  • Nabintech
    सम्बन्धित