मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका नरेन्द्र पाण्डे (जेम्स) चुनावी प्रतिवद्धता पत्र सार्वजनिक
  • मार्गरेखा संवाददाता

  •  

    ८ फागुन, काेहलपुर । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाँके क्षेत्र नं. १ बाट उम्मेदवारी दिएका नरेन्द्र पाण्डे (जेम्स) चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन । शुक्रबार पत्रकार सम्मेलनकाे आयाेजना गर्दै पाण्डेले तीन पृष्ठकाे प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन ।

    “हिजो व्यवस्था बदल्यौं, अब अवस्था बदल्ने अभियान” भन्ने मूल सन्देशसहित सार्वजनिक दस्तावेजमा उनले क्षेत्रको यथार्थ समस्या पहिचान गर्दै समाधानका ठोस खाका अघि सारेका छन ।

    उनको प्रतिवद्धतामा स्वास्थ्य, शिक्षा, कृषि, उद्योग, पूर्वाधार, सामाजिक न्याय, युवा तथा खेलकुद र सुशासनलाई प्राथमिकताका साथ समेटिएको छ । प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने, आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गर्ने तथा मातृ-शिशु स्वास्थ्य सेवामा विशेष ध्यान दिने योजना प्रस्तुत गरिएको छ। स्वास्थ्यलाई सेवाको रूपमा मात्र नभई अधिकारको रूपमा स्थापित गर्ने उनको भनाइ छ ।

    शिक्षा क्षेत्रतर्फ सामुदायिक विद्यालयको गुणस्तर सुधार, प्राविधिक शिक्षाको विस्तार र युवालाई सीपयुक्त बनाउने कार्यक्रमलाई जोड दिइएको छ । “एक विद्यालय-एक प्राविधिक धार” जस्ता अवधारणामार्फत विद्यार्थीलाई रोजगारीसँग जोड्ने लक्ष्य राखिएको छ । शिक्षा प्रणालीलाई समयसापेक्ष, प्रतिस्पर्धी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    कृषि र उद्योगलाई आत्मनिर्भर अर्थतन्त्रको आधार मानेर पाण्डेले सिँचाइ विस्तार, मल-बीउको सहज उपलब्धता, चिस्यान केन्द्र निर्माण र स्थानीय उत्पादनको बजारीकरणमा जोड दिनुभएको छ। “एक पालिका-एक औद्योगिक ग्राम” को अवधारणामार्फत साना तथा मझौला उद्योग प्रवर्द्धन गरी युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने योजना अघि सारिएको छ ।

    पूर्वाधार विकासतर्फ कोहलपुरदेखि राप्ती सोनारी र नरैनापुरसम्म सडक सञ्जाल विस्तार र स्तरोन्नति, अव्यवस्थित विद्युत आपूर्ति सुधार तथा बाँकी बस्तीमा विद्युत विस्तार गर्ने प्रतिबद्धता उल्लेख गरिएको छ । सिँचाइ आयोजना पूर्णता र नयाँ परियोजनाको सुरुवातमार्फत कृषि उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको छ ।

    सामाजिक न्याय र समावेशीतालाई पनि प्रतिवद्धता पत्रमा विशेष स्थान दिइएको छ । दलित, महिला, मधेसी, थारु, मुस्लिम लगायत सबै समुदायको अधिकार सुनिश्चित गर्ने, भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि कानुनी र व्यवहारिक पहल गर्ने योजना प्रस्तुत गरिएको छ । सामाजिक सुरक्षा र सीपमूलक तालिममार्फत पिछडिएका वर्गलाई आर्थिक मूलधारमा ल्याउने लक्ष्य राखिएको छ ।

    सुशासनका सन्दर्भमा पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागितालाई प्राथमिकता दिइएको छ । सार्वजनिक सेवा प्रवाहलाई सरल, छिटो र पारदर्शी बनाउन डिजिटल प्रणालीको प्रयोग बढाउने तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

    युवा र खेलकुदतर्फ “एक पालिका-एक खेल मैदान” को अवधारणा अघि सार्दै खेल पूर्वाधार निर्माण, उद्यमशीलता तालिम र स्टार्टअप प्रवर्द्धनमार्फत युवालाई सकारात्मक दिशामा अग्रसर गराउने योजना प्रस्तुत गरिएको छ ।

    प्रतिवद्धता सार्वजनिक गर्दै पाण्डेले चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया नभई यस क्षेत्रको भविष्य निर्धारण गर्ने अवसर भएको उल्लेख गर्दै सक्षम र याेग्य उम्मेदवारलाई बिजयी गराउन सबैलाई आग्रह समेत गरेका छन ।

  • ८ फाल्गुन २०८२, शुक्रबार १३:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित