काठमाडौँ, २८ चैतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल चिकित्सक सङ्घले गम्भीर ध्यानाकर्षण भएको बताउँदै सो निर्णयमा पुनर्विचार गर्न माग गरेको छ । सरकारले शनिबार र आइतबार दुई दिन बिदा गर्ने व्यवस्था लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित नबनोस् भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई आइतबार पनि बहिरङ्ग सेवा सञ्चालन गर्न आग्रह गरेको थियो । अस्पतालहरूले आफ्नो कार्यभार हेरी बहिरङ्ग सेवा सञ्चालन गर्न र सट्टा बिदा मिलाएर भए पनि सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिएको थियो । सो निर्देशन प्राप्त भएपछि सङ्घले एक विज्ञप्ती जारी गर्दै पर्याप्त जनशक्ति अभाव र बढ्दो कार्यभारका कारण उक्त निर्देशन कार्यान्वयन गर्न कठिनाइ हुने भएकाले आइतबार बहिरङ्ग सेवा सञ्चालन गर्न सम्भव नभएको जनाएको हो । चिकित्सक तथा स्वास्थ्यकर्मीले ९–५ बाहेक ‘अनकल’, ‘राउन्ड’ तथा आकस्मिकलगायत २४सै घण्टा सेवा प्रदान गरिरहेको अवस्थामा उक्त समय गणना नहुनु अन्यायपूर्ण रहेको सङ्घले जनाएको छ । पर्याप्त जनशक्ति व्यवस्थापन नभएसम्म मन्त्रालयको उक्त निर्देशन कार्यान्वयन गर्न नसकिने सङ्घको ठहर छ ।
यसैबीच विभिन्न अस्पताल तथा प्रतिष्ठानले फरक फरक सूचना जारी गरेका छन् । त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतले आकस्मिक बाहेक आइतबार बहिरङ्ग सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेका छन् । उता राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पतालले भने आइतबार पनि सेवा सञ्चालन गर्ने जनाएका छन् ।









