कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह सम्पर्कविहीन भएका छन् । उनी तिलौराकोट सामुदायिक वनमा हराएका हुन् ।
शुक्रबार दिउसो सिंह चढ्ने मोटरसाइकल जंगलमा भेटिए पनि उनी अहिलेसम्म भेटिएका छैनन् । कपिलवस्तुका प्रहरी प्रमुख एसपी मनोहर भट्टले शुक्रबार खोजी गरे पनि भेटाउन नसकेपछि अहिले बिहानैदेखि खोजी कार्य जारी रहेको बताए ।
‘गोरुसिंगे र तिलौराकोट बीचमा पर्ने वनमा उहाँहरूले रिर्सोट बनाउन लाग्नुभएको रहेछ’ एसपी भट्टले लोकान्तरसँग भने, ‘शुक्रबार बेलुकापख उहाँ त्यहाँबाट निस्केर बाटो बिराएपछि आफन्तलाई फोन पनि गर्नुभएको रहेछ । खोज्दै जाँदा उहाँ चढ्ने मोटरसाइकल भेटियो । तर, उहाँ अहिलेसम्म भेटिनुभएको छैन ।’
आफन्तलाई फोन गर्दा म हराएँ भन्दै सिंह हतासिएको आवाजमा बोलेका थिए । उनी चढ्ने लु प्र ०१०१३ नम्बरको मोटरसाइकल जंगलमा फेला परेको थियो । प्रहरी स्थानीय बासीसहित ठूलो संख्यामा रहेका टोलीले ढेकहरी क्षेत्रको आसपासका धेरै क्षेत्रमा खोजी कार्य गरेको थियो ।
उनको फोनमा हिजोदेखि सम्पर्क हुन सकेको छैन ।









