काठमाडौं भदाै । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते हुने वडा अधिवेशनमा कुनै अलमलमा नपरी उत्साहका साथ सहभागी हुन कांग्रेसका क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आह्वान गरेका छन्।
भदौ ३० गते अपिल जारी गर्दै सभापति थापाले २०८३ असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने १५औँ महाधिवेशनलाई सफल बनाउन वडादेखि केन्द्रसम्मको अधिवेशन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेका हुन्।
उनले लोकतन्त्रमा फरक मत स्वाभाविक हुने भन्दै पार्टीभित्रका मतभेद र असमझदारीलाई संवाद, विधि र पद्धतिबाट समाधान गर्नुपर्ने बताएका छन्। कांग्रेसमा फरक मतलाई स्वीकार गर्दै विधि र पद्धतिका आधारमा समाधान खोज्ने परम्परा रहेको उल्लेख गर्दै थापाले महाधिवेशन नै पार्टीभित्र सबै विचारलाई सम्मान र सम्बोधन गर्ने उत्तम माध्यम भएको बताएका छन्।
सभापति थापाले महाधिवेशनमा सबै सदस्यको सहज सहभागिता सुनिश्चित गर्न केन्द्रीय कार्यसमितिले आपसी संवाद र सहमतिको वातावरण बनाउन अधिकतम प्रयास गर्दै आएको दाबी गरेका छन्। उनका अनुसार २०८२ पुससम्म नवीकरण भएका सबै क्रियाशील सदस्यलाई अधिवेशन प्रक्रियामा सहज सहभागिता गराउने निर्णयअनुसार सदस्यता व्यवस्थापन समितिले नामावली टुंग्याइसकेको छ भने केन्द्रीय निर्वाचन समितिले अधिवेशन प्रक्रिया अघि बढाइसकेको छ।
त्यसैगरी, विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनुअघिको केन्द्रीय कार्यसमितिका तत्कालीन पदाधिकारी तथा सदस्यहरूलाई वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा समावेश गर्ने व्यवस्था भदौ २८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको थापाले बताएका छन्।
उक्त निर्णयसँगै तत्कालीन केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू वर्तमान केन्द्रीय कार्यसमितिको सदस्यका रूपमा सुनिश्चित भइसकेको भन्दै उनले उनीहरूलाई १५औँ महाधिवेशन प्रक्रियामा केन्द्रीय सदस्यकै रूपमा सहभागी हुन आग्रह गरेका छन्।
थापाले असोज ३ गते वडाबाट सुरु हुने अधिवेशनदेखि असोज १६–१९ गते काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनसम्म सबै तहका कार्यसमितिले सौहार्दपूर्ण र हार्दिक वातावरणमा सबैलाई सहभागी गराएर महाधिवेशन सम्पन्न गर्न अपिल गरेका छन्।
उनले महाधिवेशनमार्फत कांग्रेसलाई एकताबद्ध र गतिशील बनाउँदै राष्ट्रिय चुनौती सामना गर्न सक्ने बलियो पार्टी निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।










