मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गगनलाई पूर्णबहादुर खड्काको आग्रह– ‘महाधिवेशन स्थगित गरेर देउवासहितका नेतासँग संवाद गर्नुस्’
  • मार्गरेखा संवाददाता

  • काठमाडौं असाेज १  । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले सभापति गगनकुमार थापालाई पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि स्थगित गरी पार्टी एकताका लागि तत्काल संवाद अघि बढाउन आग्रह गरेका छन्।
    असोज १ गते अपिल जारी गर्दै खड्काले थापालाई १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासहित अग्रज नेताहरूसँग आफ्नै पहलमा वार्ता तथा संवाद सुरु गर्न आग्रह गरेका हुन्।
    खड्काले असोज ३ गतेदेखि सुरु हुने भनिएको १५औँ महाधिवेशनको कार्यतालिका केही समयका लागि सार्नुपर्ने सुझाव दिएका छन्। दुईवटा अलग–अलग महाधिवेशन अघि बढे कांग्रेस विभाजन रोक्न कठिन हुने उनको भनाइ छ।
    ‘पार्टीको सम्पूर्ण एकता अझै सम्भव छ’ भन्दै खड्काले गम्भीर आत्मसमीक्षा गरेर पुनः कठोर संकल्प गर्न थापालाई आग्रह गरेका छन्। उनले कानुन, अदालतको निर्णय वा पार्टी विधानका कारण थापालाई अप्ठ्यारो नपर्ने दाबीसमेत गरेका छन्।
    खड्काले कांग्रेस विभाजनले मुलुकको राजनीतिक परिस्थितिमा समेत गम्भीर असर पर्न सक्ने आशंका व्यक्त गरेका छन्। कांग्रेसपछि नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीलगायत संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका दलहरूमा समेत विभाजन हुन सक्ने उनको विश्लेषण छ।
    त्यसबाट जातीय, क्षेत्रीय तथा धार्मिक द्वन्द्व बढ्न सक्ने र राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा राष्ट्रिय स्वाभिमानमा गम्भीर चुनौती आउन सक्ने उनले चेतावनी दिएका छन्।
    पार्टी एकताका लागि आफू व्यक्तिगत महत्वाकांक्षाबाट मुक्त भएर जस्तोसुकै त्याग गर्न तयार रहेको खड्काले बताएका छन्। उनले थापालाई तत्काल निर्णायक कदम चालेर ‘सम्पूर्ण एकताको सिंगो कांग्रेसको सभापति’ बन्न आग्रह गरेका छन्।
    आफूले व्यक्त गरेका विश्लेषण र आशंका गलत साबित हुँदा सबैभन्दा बढी खुसी आफू नै हुने पनि खड्काले स्पष्ट पारेका छन्।

     

  • १ आश्विन २०८३, बिहीबार १८:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित