बैतडी कात्तिक ३० । बिहीबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका- ६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
बिहानसम्म घटनास्थलबाट ६ जनाको शव संकलन गरिएकोमा अस्पताल पुर्याइएका थप दुई जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजीव बस्नेतले सबै मृतकको सनाखत भएको जानकारी दिए ।
उनकाअनुसार मृतक मध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन् ।
दुर्घटनामा ४५ वर्षीय मोहम्मद सफीर, १८ वर्षीय मोहम्मद बसिर, शैल्यशिखर नगरपालिका- ९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर-५ बस्ने ४० वर्षीया मीना लेखकको मृत्यु भएको एसपी बस्नेतले बताए ।
यस्तै, बैतडीको डिलासैनी गाउँपालिका-५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको छ । दुर्घटनामा जीप चालक मालिकार्जुन गाउँपालिका-८ पस्तीका ३० वर्षीय सुनिल जोशी सहितका ५ जना घाइते छन् ।
बिहीबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गाेकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप दुर्घटनामा परेको थियो ।
३० कार्तिक २०८१, शुक्रबार १०:१५ प्रकाशित