काठमाडौं असाेज १ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजनप्रति चिन्ता व्यक्त गर्दै एकता कायम गरेर अघि बढ्न पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।
असोज १ गते जारी गरेको अपिलमार्फत कोइरालाले मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै कांग्रेसभित्रको विभाजनले राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा समेत असर पर्न सक्ने बताएका हुन्।
कोइरालाले कांग्रेसका संस्थापक नेताहरूले त्याग, निष्ठा र आदर्शका आधारमा निर्माण गरेको पार्टीको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै अहिले पार्टी विभाजित अवस्थामा पुग्नु दुःखद भएको उल्लेख गरेका छन्। उनले आफू कांग्रेस विभाजनबाट उत्साहित हुन नसक्ने र कुनै पक्षलाई सही तथा अर्को पक्षलाई गलत भनेर वकालत गर्न नसक्ने बताएका छन्।
उनले कांग्रेसभित्र सहमति, सहकार्य र एकताको मध्यमार्ग खोज्नुपर्नेमा जोड दिएका छन्। “दुई महाधिवेशनबाट देशको राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा पर्ने आघात रोकौं, एउटा मध्यमार्गी र विवेकपूर्ण समझदारीको बाटो खोजौं,” कोइरालाले अपिलमा भनेका छन्।
प्राकृतिक विपत्तिबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा नागरिक प्रभावित भइरहेका बेला कांग्रेस आन्तरिक विवादमा केन्द्रित भएको भन्दै उनले पार्टीले मानवीय संवेदनालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। चाडपर्वको समयमा परिवारका सदस्य र आफन्त गुमाएका नागरिकको पीडाप्रति कांग्रेस संवेदनशील हुनुपर्ने उनको भनाइ छ।
कोइरालाले कानुन र विधानका धारालाई मात्र आधार बनाएर अघि बढ्नुभन्दा मानवीय संवेदना, सहमति र सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। कांग्रेस आफ्नो राष्ट्रिय दायित्वबाट विमुख हुँदै गए भावी पुस्तालाई पार्टीसँग जोड्न कठिन हुने उनको चेतावनी छ।
उनले आफूलाई ‘मध्यमार्ग’ कठिन भए पनि कांग्रेसको मार्ग र जीवनदर्शनसँग जोडिएको बाटो भएको बताएका छन्। पार्टीभित्र कसैप्रति आरोप–प्रत्यारोप नगर्ने स्पष्ट गर्दै उनले सबैको एकताबद्ध प्रयासबाट मात्रै कांग्रेसलाई बलियो बनाउन सकिने बताएका छन्।
कोइरालाले गाउँ–टोलदेखि केन्द्र र विदेशमा रहेका कांग्रेसका नेता–कार्यकर्तालाई पार्टी एकताका लागि दृढतापूर्वक अभियानमा जुट्न आग्रह गरेका छन्। उनले पार्टी एकता र राष्ट्र निर्माणको अभियानलाई अलग रूपमा बुझ्न नसकिने भन्दै आफू निरन्तर कांग्रेस एकताको पक्षमा सक्रिय रहने बताएका छन्।










