मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेका किसानसँग एक करोड ३८ लाख रुपियाँभन्दा बढीको धान खरिद
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज मङ्सिर ७ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगन्जले बाँकेका किसानसँग एक करोड ३८ लाख रुपियाँभन्दा बढीको धान खरिद गरेको छ ।

    गत कात्तिक २३ गतेबाट किसानको धान खरिद गर्न लागेको नेपालगन्ज कार्यालयले मङ्सिर ६ गतेसम्म बाँकेका किसानसँग एक करोड ३८ लाख ९२ हजार ९७३ रुपियाँको धान खरिद गरेको हो ।

    कात्तिक २३ गतेदेखि मङ्सिर ६ गतेसम्मको समयअवधिमा खाद्यले चार हजार ३२० दशमलव २३ क्विन्टल धान खरिद गरेको छ । जसमध्ये मोटा धान ६९१ दशमलव ९० क्विन्टल र मध्यम धान ३६२८.३३ क्विन्टल धान खरिद गरेको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले बताउनुभयो ।

    सूचना अधिकारी घिमिरेका अनुसार मोटा धान २३ लाख ९६ हजार ६१० रुपियाँ र मध्यम धान एक करोड १४ लाख ९६ हजार ३६३ रुपियाँ गरी कुल एक करोड ३८ लाख ९२ हजार ९७३ रुपियाँको धान खरिद गरिएको छ ।

    हालसम्म धान बिक्री गर्न ६५५ जना किसानले स्थानीय तहको सिफारिस दर्ता गराएको घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सिफारिस दर्ता गराएकामध्ये १०५ जना किसानसँग धान खरिद गरिएको छ ।

    मोटा धानको तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६२८ रुपियाँ ३३ पैसा सरकारले तोकिदिएको न्यूनतम समर्थन मूल्यमा किसानसँग धान खरिद गरिरहेको सूचना अधिकारी घिमिरेले बताउनुभयो ।

    “यस वर्ष नेपालगन्ज कार्यालयबाट १५ हजार क्विन्टल मोटा धान र ५ हजार क्विन्टल मध्यम गरी २० हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएका छौँ, यो कोटा गत वर्षभन्दा आधाले कमी हो । अहिलेसम्म ६९१.९० क्विन्टल मोटा र ३६२८.३३ क्विन्टल मध्यम गरी ४३२०.२३ क्विन्टल धान खरिद गरिसकेका छौँ” कार्यालय प्रमुख रामशरण लामिछानेले भन्नुभयो, “मोटा धानभन्दा धेरै मात्रामा मध्यम धान बिक्री गर्न किसानले ल्याउनुभएको छ, मध्यम धानको कोटा अब छिटै पूरा हुने देखिन्छ, मध्यम धानको कोटा पूरा भएपछि किसानले मोटा धानको मूल्यमा बिक्री गर्न चाहनुभयो भने मध्यम धान खरिद गर्छौँ, नभए खरिद गर्न बन्द गर्छौँ ।”

    “जम्मा ५ हजार क्विन्टल मध्यम धान खरिद गर्ने कोटा छ, करिब ३५ सय क्विन्टल जति आइसकेको छ, यहाँका किसानहरूले मोटाभन्दा मध्यम धानको खेती बढी गर्नेगरेको पाइयो, किसानहरूले धेरैजसो मध्यम धान बिक्री गर्न ल्याउनुभयो” उहाँले भन्नुभयो ।

    धान जोखाइ तथा तौलाइ गर्नका लागि हाल दुईवटा काँटा सञ्चालन गरिएको छ । जोखाइ तथा तौलाइ गर्न आवश्यक मजदुर परिचालन गरिएको छ । मजदुरलाई जिल्लास्थित प्राथमिक खरिद समितिले निर्धारण गरेको प्रतिक्विन्टल जोखाइ तथा तौलाइ गरेबापत ४० रुपियाँ रकम प्रदान गरिँदैआएको छ । ११ गतेदेखि दुई वटा काँटा थप गरी चार वटा काँटा सञ्चालन गरिने लामिछानेले बताउनुभयो ।

    एक किसानसँग बढीमा ४० क्विन्टल मात्र धान खरिद गरिरहेको कार्यालयले धान बिक्री गरेबापतको रकम बैंकमार्फत भुक्तानी गर्दैआएको छ । किसानको बैंक खाता, मोबाइल नम्बर र स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ ।

    पहिले किसानहरू १५ दिनसम्म खाद्यमा आएर लाइन लागेर बस्नुपर्ने बाध्यता भएका कारण यस वर्ष धान ल्याउनपूर्व नै स्थानीय तहको सिफारिस ल्याएर दर्ता गर्ने र कार्यालयले दिएको समयमा किसानहरू आएर धान बिक्री गर्ने व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।

    यस वर्ष २० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण भएको छ । गत वर्ष ४० हजार धान खरिद गर्ने कोटा पाएको यस कार्यालयले मध्यम धान बिक्री गर्ने किसानको चाप बढेपछि खाद्यले केन्द्रीय कार्यालयसँगको सहमतिमा थप १५ हजार क्विन्टल मध्यम धान खरिद गर्नेगरी ५५ हजार क्विन्टलको लक्ष्य लिएकोमा ३२ हजार क्विन्टलभन्दा बढी धान खरिद गरेको थियो । साभार – गाेरखापत्र अनलाइनबाट

  • ७ मंसिर २०८२, आईतवार १८:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित