साे कुरा बाँकेको खजुरा गाउँपालिका स्तरीय माओवादी पालिका अधिवेशनको बिहिबार उदघाटन एवं खबरदारी सभालाई सम्बोधन गदै बताएका हुन ।
प्रचण्डले सरकार संचालन र समीकरणका क्रममा पार्टीबाट पनि केही कमजोरी भएको स्वीकार पनि गरे । कहिले कांग्रेस कहिले एमालेसँग गठबन्धन गर्दा माओवादीको पहिचान मेटिने अवस्था आएको बताउँदै उनले आगामी निर्वाचनमा भ्रष्टाचारीहरुसँग कुनै गठबन्धन नगरी माओवादी एक्लै उभिने प्रतिबद्धता व्यक्त गरे ।
प्रचण्डले आफु नेतृत्वको सरकारले भ्रष्टाचारीहरुलाई कानूनी दायरामा ल्याउने काम गर्दै गर्दा अचम्मैगरी समीकरण बनेको बताए । ‘संसदीय व्यवस्थामा ठुला दुई दल मिलेर सरकार बनाएको इतिहास छैन’ उनले भने, ‘यो सरकार अस्वाभाविक र अप्राकृतिक छ र ढल्न आवश्यक छ ।’ उनले अहिले भ्रष्टाचार गर्नेहरु संसदमा धेरै र भ्रष्टाचारका विरुद्ध लाग्नेहरुको संख्या कम भएको अवस्था रहेको बताए ।
आफुले नयाँ संघर्षको थालनी गरेको जनाउँदै आफ्नो संघर्ष शान्तिपूर्ण भएपनि शसक्त रहने बताए । १८ गतेबाट सदनभित्र पनि नयाँ संघर्ष सुरु गर्ने जनाउँदै उनले जनता हारेको इतिहास नभएको स्पष्ट पारे ।
झण्डै ४० वर्ष अघि पञ्चायती व्यवस्था हुँदा खजुरामा आएको स्मरण ताजै रहेको बताउँदै अध्यक्ष प्रचण्डले जनआन्दोलन र जनयुद्धमा खजुराले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । उनले खजुराको विकास र समृद्धिका लागि सधैं लागिरहने प्रतिवद्धता जनाए ।