मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बीपीको अन्तर्राष्ट्रियतावाद
  • जीवनाथ धमाला

  • बीपी कोइराला नेपालको सन्दर्भमा प्रजातन्त्र र समाजवादका व्याख्याता हुन्। नेपाली राष्ट्रियताका एक शीर्ष व्याख्याता पनि हुन् उनी। त्यसो त अन्ध राष्ट्रियता, अन्ध राष्ट्रवाद वा निरंकुशतावादका उत्तिकै प्रखर विरोधी पनि। राष्ट्रिय अस्तित्वको सम्मानजनक सुरक्षाको प्रत्याभूति हुनुपर्छ भन्नेमा बीपीले कसैसँग सम्झौता गरेनन्। उनको समयमा रंगभेद वा वर्णभेदले अन्तर्राष्ट्रियस्तरमा व्यापक चर्चा पाएको थियो। बीपी स्वभावतः त्यसका विरोधी थिए।

    सन् ६० को दशकमा विशेषगरी अफ्रिकी महादेशमा देखिएको रंगभेद वा कालो र गोरो वर्णले निर्माण गरेको अन्तर्राष्ट्रिय मनस्थितिको मूल्यांकन गरे बीपीले। यसरी दुवै वर्णले भिन्नभिन्न समयमा निर्दोषताको भावनात्मक स्थान प्राप्त गरेका थिए भन्ने बीपीको मूल्यांकन थियो। कालो भन्नेबित्तिकै सर्वदोषरहित निर्दोषताको प्रमाण हो भन्ने तर्क उपस्थित हुन थालिरहेछ।’ बीपी रंगका आधारमा हुने कुनै पनि जातीय श्रेष्ठताको सिद्धान्तका विरुद्धमा थिए– ‘जातीय श्रेष्ठताको सिद्धान्तको कुनै पनि वैज्ञानिक या सामाजिक या मानवीय आधार छैन। त्यसो हुनाले यसको जति छिटो लोप हुन्छ, उति बढी कल्याण मानवको हुनेछ।’

    बीपी अफ्रिकी रंगभेदवादी नीति, अमेरिकी रंगभेद कुनै पनि समाजमा विद्यमान छुवाछूत, भाषा वा धर्मका नाममा हुने भेदभाव, अल्पसंख्यक वा बहुसंख्यकका आधारमा हुने असमानतापूर्ण व्यवहारका सक्त विरोधी थिए। बीपीले आफू प्रधानमन्त्रीका हैसियतमा रहँदा अफ्रिकी महादेशमा रहेको गोरा शासकको रंगभेदवादी नीति एवं विश्वका पराधीन मुलुकहरूको स्वतन्त्रताका लागि संयुक्त राष्ट्र संघले उचित कदम चाल्नुपर्नेमा महासभाबाटै सशक्त आह्वान गरेका थिए।

    बीपीले राष्ट्रसंघमा सदस्यता प्राप्त नगरेका मुलुकहरूले अविलम्ब सदस्यता पाउनुपर्नेमा पनि जोड दिएका थिए। मानवजातिको अस्मिता, अधिकार, स्वतन्त्रतालगायतका विषयमा केन्द्रित विश्वमानव कल्याणकारी दृष्टिकोण नै अन्तर्राष्ट्रियताको दृष्टिकोण हो। उनले कुनै पनि भेदभावरहित एवं शासकीय निरंकुशतामुक्त मानव समाजको स्थापनाका लागि चिन्तन र आह्वान गरे। राजनीतिक, सामाजिक वा सांस्कृतिक रूपले विभेदजन्य विश्व समाजको तत्कालीन अवस्थामाथिको विश्लेषण बीपीका जीवनको उत्तराद्र्धतिरका दस्तावेजहरूमा पनि पढ्न पाइन्छ। विशेषतः उनका राजनीतिक लेख, भाषण वा अन्तर्वार्ताहरूमा अन्तर्राष्ट्रियतासम्बन्धी चिन्तन मनग्य भेटिन्छन्। एउटा राजनेतामा समसामयिक विश्व परिस्थितिप्रति सजगता र त्यसप्रतिका दृष्टिकोणहरूमा नवीनता रहन्छ। बीपीले भूमण्डलीकरणको चर्चा वस्तुगत ढंगले गरेका छन्।

    विगत सन् ९० को दशकयता भूमण्डलीकरण वा विश्वव्यापीकरणको चर्चाले व्यापकता पाउँदै आएको पाइन्छ। विज्ञान र प्रविधिको व्यापक विकास हुँदै जाँदा त्यसका उपलब्धिबाट कुनै पनि मुलुकले आफूलाई लाभान्वित गराउँदै लान खोज्नु स्वाभाविक थियो। हरेक मुलुकले आर्थिक व्यवस्थालाई विश्व आर्थिक व्यवस्थाको एकाइका रूपमा स्विकार्नुपर्ने स्थितिको मूल्यांकन उनले गरेका थिए। अन्तर्राष्ट्रियताको भावना नलिई कुनै पनि मुलुकले विकासको गतिलाई अगाडि बढाउन नसक्ने विचार व्यक्त गरेका छन्, ‘बडो विरोधाभासपूर्ण प्रवृत्तिहरू अन्तर्राष्ट्रिय जगत्मा प्रकट हुँदैछन्– परस्परविरोधी प्रवृत्तिहरू।

    विश्वको स्थिति यस्तो भएर आएको छ कि अब स्पष्ट रूपबाट व्यावहारिक अर्थमा तमाम संसार एउटा एकाइमा परिणत हुँदैछ। कुनै पनि भूभाग अरू भागको असम्पर्कमा रहन सक्दैन। आर्थिक स्थिति अन्तर्राष्ट्रिय भइसकेको छ। झन् विकासको यस युगमा आर्थिक व्यवस्थालाई अन्तर्राष्ट्रियताको भावनामा सारा विश्वलाई एउटा एकाइका रूपमा नसोची अब विकास सम्भव छैन।’

    विश्वनेताहरूले युगिन प्रवृत्तिगत ऐक्यताको प्रवाहलाई बुझेका भए विश्व राष्ट्रियतावादी स्वतन्त्रताको पछि नलागी समस्त मानवजातिको ऐक्यतालाई प्रवद्र्घन गर्ने विश्वव्यवस्थाको परिकल्पना गर्ने थिए भन्ने बीपीको आशय पाइन्छ।

    यसैगरी, यातायात तथा सञ्चारमा आएको क्रान्तिले विश्व क्रमशः वित्तीय बन्धनमा पनि बाँधिदै गएको परिस्थितिमा देशहरूका बीचको भौगोलिक तथा मनोवैज्ञानिक दूरी मेटिँदै गएर मानिसका विचार र व्यवहारमा एकरूपता आउँदै गरेको विश्लेषण बीपीले सन् ६० को दशकमै गरेका थिए। जुन यस्तो छ, ‘…यातायात र सञ्चारको ठूलो विकासले देश–देशका बीचको दूरी (भौगोलिक तथा मनोवैज्ञानिक)लाई मेटाइदिएको छ, जसले गर्दा रहनसहन र आचारविचार तथा चिन्तन प्रणाली सबै एकनासको हुँदैछ सारा विश्वमा।’ बीपीले उसबेला देखेअनुसार विश्व जनमानसमा आएका वैचारिक एवं व्यावहारिक समरूपताले वर्तमानमा झन् व्यापकता पाउँदै आएको छ। विज्ञान र प्रविधिका उपलब्धिहरूका कारण सारा विश्व अब कसैका लागि पनि टाढा र अपरिचित नभएको प्रत्यानुभूति आम मानिसमा क्रमशः हुँदै गइरहेको छ।

    प्रथम विश्वयुद्धपछि राष्ट्रसंघ (लिग अफ नेसन्स) जस्तो विश्व संस्थाको परिकल्पना गरियो। द्वितीय विश्व युद्धपछि त्यसका उद्देश्यहरूलाई अझ व्यापक बनाइँदै संयुक्त राष्ट्रसंघको जन्म पनि भयो। विश्व एकता र सहयोग आदानप्रदान, विश्वबन्धुत्व, स्वतन्त्रता लगायतका विचारहरूको दु्रततर विकास र विस्तार पनि हुँदै आयो। तर, सँगसँगै विश्वलाई एउटै साझा एकाइका रूपमा रूपान्तरण गर्दै जान प्रेरित गर्ने मौलिक चिन्तन प्रवृत्तिका विरुद्ध झन् धेरै राष्ट्रहरूको उदय हुँदै आयो।

    द्वितीय विश्व युद्धपछिको युगको मौलिक प्रवृत्ति युगकै लागि अनुपयुक्त राष्ट्रियताको घेरामा खुम्चिनु थिएन भन्ने चिन्तन बीपीले गरेका थिए। मानिसका व्यवहार र चिन्तनहरूमा रहेका विभेद, विभिन्नता र अनेक रूपतामा कमी आएर आर्थिक, सामाजिक, सांस्कृतिक व्यवस्थामा नै सबैको समान रुचि र सहभागिता बढ्दै गइरहेको स्थितिमा राष्ट्रियताभित्र युगिन विश्व मानव प्रवृत्ति अटाउन नसक्ने चिन्तन बीपीको छ।

    यदि विश्वनेताहरूले यस युगिन प्रवृत्तिगत ऐक्यताको प्रवाहलाई बुझेका भए विश्व राष्ट्रियतावादी स्वतन्त्रताको पछि नलागी समस्त मानवजातिको ऐक्यतालाई प्रवद्र्धन गर्ने विश्वव्यवस्थाको परिकल्पना गर्ने थिए भन्ने बीपीको आशय पाइन्छ। ‘यदि विश्वका राजनीतिक नेताहरूमा दूरदर्शिता भएको भए विश्वको एकताका प्रवृत्तिलाई पोषण गर्ने व्यवस्थाको परिकल्पना उनीहरूबाट हुने थियो न कि राष्ट्रिय स्वतन्त्रताको सजिलो बाटोलाई उनीहरूले पैल्याउने थिए।’ उनले द्वितीय विश्वयुद्धपछि विस्तारित राष्ट्रियताको धारणा विश्वमानव समाजको मौलिक प्रवृत्तिको अनुकूल नरहेको चिन्तन गरेका छन्। आजीवन उनी स्वतन्त्रताको नाममा तानाशाहहरूद्वारा परिभाषित राष्ट्रियताका विपक्षमा रहे।

    बीपीको राजनीतिक व्यक्तित्वलाई बुझ्न उनका विचारभित्रका बहुआयामिक पक्षहरूलाई पहिल्याउनु जरुरी हुन्छ। बीपीका समाजवादी चिन्तनहरू मुलुक सापेक्ष मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमै पनि व्यावहारिक रहेको बुझ्न सकिन्छ। अन्तर्राष्ट्रिय समाजवादी संगठनमा उनी एक सम्मानित राजनेता नै थिए। बीपीका गुणत्वका पारखी प्रसिद्ध कूटनीतिज्ञ एवं परराष्ट्रविद् प्रा. यदुनाथ खनालले उनको व्यक्तित्वलाई एक राजनीतिशास्त्री, राजनेता र नीतिद्रष्टाका हैसियतमा राखेर मूल्यांकन गर्नु अत्युक्ति नहुने बताएका छन्।

    राजनीतिक हिसाबले बीपीको त्रिआयामिक व्यक्तित्व उनको वैचारिकताको अन्वेषणात्मक अध्ययनका लागि महत्वपूर्ण आधार हुनसक्छ। उनको अन्तर्राष्ट्रियतासम्बन्धी चिन्तन एक राजनीतिशास्त्रीका हैसियतमा अभिव्यक्त भएको मान्न सकिन्छ। बीपीको व्यक्तित्वसँग समकालीन विश्वका कैयौं राजनेतासँग तुलना गर्न सकिने कुरा राजनीतिक चिन्तक प्रदीप गिरिले पनि गरेका छन्। प्रा. यदुनाथ खनालले भनेझैं बीपीका गुणहरू नेपाली समाजका लागि चीरकालतक स्मरण गरिने ‘नासो’ हुन्। उनको सामथ्र्य नेपालका लागि अतुलनीय राष्ट्रिय वैचारिक सम्पदा हो। यसको संरक्षण र प्रवद्र्धन गर्नु वर्तमान राजनीतिक पुस्ताको शीर्ष जिम्मेवारी हो। साभार अन्नपूर्ण पाेष्ट  डटकमबाट

  • २४ भाद्र २०८०, आईतवार १३:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित